चितवन समाचार डटकम , ६ फागुन ।
चितवनको भरतपुरमा ३ नं. प्रदेश स्तरीय खेलकुद प्रतियोगिताको आजबाट शुरु भएको छ ।
भरतपुर स्थित जुनियर प्रहरी अधिकृत शिक्षालयमा शुरु भएको खेलको भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले उद्घाटन गर्नु भयो । कार्यक्रममा उहाले खेलकुद क्षेत्रको विकासका लागि सवै तहका सरकारहरु प्रतिवद्ध भएर लागि परेको बताउनु भयो । उहाले भरतपुर महानगरपालिकामा निर्माण हुन गइरहेको क्रिकेट रंगशालाका सन्दर्भमा आएका टिकाटिप्पणीले गर्दा आफू दुःखी भएको बताउनु भयो ।
हामी विकास गर्दैछौ यसको लागि विभिन्न व्यक्ति समुहसंग सहकार्य गर्नु पर्ने हुन्छ उहाले भन्नु भयो कुनै अमुक व्यक्तिले नेतृत्व लिएको भन्दैमा आपत्ती जनाउनु पर्ने अवस्था छैन । नेपालको गौरवको संरचना भएकाले सवैले सहयोग गर्नु पर्ने प्रमुख दाहालले बताउनु भयो ।
कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका केन्द्रीय सदस्य तथा प्रदेश ३ का संयोजक सुदिल शाहीले यस किसिमका प्रतियोगिताले नयाँ प्रतिभाको पहिचान मात्र नभइ खेलकुद विकासमा महत्वपूर्ण टेवा पुग्ने बताउनु भयो । प्रतियोगितामा सहभागीहरुलाई शुभकामना दिदै रत्नननगर नगरपालिकाका नारायण वनले खेलले व्यक्तिको शारीरिक मानसिक स्फूर्ती मात्र होइन देशलाई चिनाउने काम पनि गर्ने बताउनु भयो । चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र वस्नेतले खेल मार्फत विश्व चिनाउने काम हुने बताउनु भयो ।
प्रदेश ५ मा हुने आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा छनौटका लागि ३ नं. प्रदेशको खेलकुद यहाँ भएको हो । प्रतियोगिताले खेलाडीको विकासमा टेवा पुग्ने जिल्ला खेलकुद विकास समिति चितवनका अध्यक्ष गंगालाल लामाले बताउनु भयो ।
चितवनमा एथलेक्टिस र उसु खेल हुदैछ । अन्य खेलहरु ३ नम्बर प्रदेशकै विभिन्न जिल्लामा आयोजना हुने खेलकुद विकास समिति चितवनले जनाएको छ ।
प्रतियोगिता अन्तर्गत पुरुष फुटवल नुवाकोटमा, महिला फुटवल सिन्धुपाल्चोकमा, भारोत्तोलन, क्रिकेट, बास्केटवल, टेवलटेनिस, लङ टेनिस काठमाडौंमा हुने अध्यक्ष लामाले जानकारी दिनु भयो ।