चितवन समाचार डटकम, ६ फागुन ।
चितवनको जिल्ला समन्वय समितिको कार्यालय नेपालकै पहिलो वातावरण मैत्री कार्यालय हो । तत्कालिन जिल्ला बिकास समितिको कार्यालय छदैं यो वातावरण मैत्री कार्यालयको रुपमा घोषित भयो । चितवन जिल्लाका सरकारी अड्डा तथा कार्यालय यसै वरिपरिनै छन् । तर, पछिल्लो पटक कार्यालय र परिसरहरुमा फोहोर देखिन थालेका छन् ।सरकारी कार्यालयहरुमा फोहोर बढेको महसुस भएपछि प्रजातन्त्र दिवसको अवसरमा तिन दिने कार्यक्रम अन्तरगत आज सवै कार्यालय र तिनका परिसर सरसफाई गरिएका छन् ।
चितवनमा दिवस मनाउन सरकारी स्तरबाट गठीत समितिका अध्यक्ष एवम् जिल्ला समन्वय समितिका सभापति कृष्णकुमार डल्लाकोटीले सरकारी कार्यालय परिसरमा फोहोर बढेको देखिएपछि नै यो अवसर पारेर सरसफाई गरिएको बताउनुभयो ।
“कतिपय कार्यालय र परिसरहरुमा पानीका खाली वोतहलरु, जंक फुडका प्याकेटहरु गुट्खाका खोलहरु असरल्ल देखिन थाले, फोहोर बढेको देखियो अव यसलाई नियमतिरुपमा सरसफाई अभियान चलाउनु पर्दछ ” डल्लाकोटीले भन्नुभयो । जिल्ला समन्वय समितिका सभापति स्वयम आज सरसफाईका लागी परिसरमा निस्कनुभएको थियो ।सरकारी कार्यालयहरुलाई आवश्यक्ता अनुसारको स्याहार नपुगेको देखिन्छ । भित्ताहरुमा झार उम्रने , परिसर झाडीमय हुने , फोहोर यत्रतत्र छरिने जस्ता समस्या छन् ।
चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले आज जिल्लाका सवै सरकारी कार्यालयहरुमा सरसफाई गरिएको बताउनुभयो । सिडीयो कार्यालयमा आफै झाडु लिएर बढार्न निस्कनु भएका प्रमुख जिल्ला अधिकारी बस्नेतले सरसफाईका लागी सरकारी कर्मचारी तथा आम नागरिक सबै सचेत हुनुपर्ने बताउनुभयो । कर्मचारीहरुले सफाई राख्नुपर्यो र सेवाग्राहीले पनि फोहोर हुन नदिन मद्दत गर्नुपर्यो, प्रजिअ बस्नेतले भन्नुभयो ।
चितवनका सवै सरकारी कार्यालय र तिनका परिसरमा अव हरेक शुक्रवार नियमित रुपमा सरसफाई गर्ने निर्णय समेत भएको छ । प्रमुख जिल्ला अधिकारीको अगुवाईमा जिल्लाका कार्यालय प्रमुख र सुचना अधिकारीहरु सहित बसेको बैठकले हरेक शुक्रवार एक घण्टा अनिवार्य रुपमा सरसफाई गर्ने निर्णय भएको हो । यस निर्णयले सरसफाई अभियानमा मद्दत पुग्ने प्रजिअ बस्नेतको बिश्वास छ ।
६९ औ प्रजातन्त्र दिवसको अवसरमा चितवनमा तिन दिने कार्यक्रम तय गरिएको छ । जस अन्तरत आज सरकारी कार्यालयको सरसफाई , भोली प्रभातफेरी र पर्सी रक्तदान कार्यक्रम आयोजना गरिएको छ ।
