काठमाडौं २० भदौ। साताको पहिलो दिन आइतबार शेयर बजारमा उच्च अंकको गिरावट आएको छ । कारोबार शुरु भएसँगै घट्ने क्रममा देखिएको सेयर कारोबार मापक नेप्से परिसूचक कारोबार बन्द हुँदा १०८ अंक भन्दा माथिले घटेको छ ।
नेप्से परिसूचक १०८ दशमलव २६ अंकले घटेर २ हजार ८ सय १८ दशमलव ७२ अंकमा झरेको छ । दिउसो ५ प्रतिशत बढीले मूल्य घटेर सर्किट ब्रेक समेत लागेको थियो । ४० मिनेट बन्द भएर खुलेको बजारमा केही सम्हालिने संकेत देखिएको थियो ।
तुलनात्मक हिसाबले बन्द हुँदा थोरै सम्हालियो । बजार बन्द हुँदा ३ दशमलव ७० अंकले घटेको हो । उच्च अंकले नेप्से परिसूचक घट्दा २ दर्जन बढी कम्पनीको सेयर मूल्य अत्यधिक घटेको छ ।
एकै दिन कुनै कम्पनीको १० प्रतिशत भन्दा बढी मूल्य घटबढ हुननसक्ने नियम छ । १० प्रतिशत हाराहारीमा घट्ने कम्पनीको सख्या नै ३० पुगेको छ ।
आइतबार एक बज्न ५ सेकेन्ड बाँकी रहँदा सेयर बजार ५ प्रतिशतले घटेपछि नेप्सेले कारोबार बन्द भएको थियो ।
सर्किट ब्रेकर लाग्दासम्म नेप्से १ सय ४७.३१ अंकले घटिसकेको थियो । त्यति बेलासम्म ७ अर्ब रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।
यो गिरावट सेयर बजारको इतिहासमा हालसम्मकै धेरै हो । यसअघि २०७७ मंसिर २१ गते १ सय २३ अंकले घटेको थियो ।