गाउँ गाउँमा कोरोना फैलियो

काठमाडौ १३ जेठ । इलाम, खोटाङ, ताप्लेजुङ र धनकुटा — पूर्वी पहाडी जिल्लाका गाउँगाउँमा कोरोना संक्रमण फैलिने क्रम बढे पनि परीक्षण पर्याप्त हुन सकेको छैन । कोरोना जस्तै लक्षणका बिरामीको संख्या पछिल्ला दिन ह्वात्तै बढेकाले थप जोखिम निम्तिएको छ ।

इलामका ग्रामीण क्षेत्रसम्मै कोरोनाको प्रभाव देखिएको छ । गत वैशाख २८ गतेदेखि जिल्लामा निषेधाज्ञा लागू गरेर आवतजावतमा नियन्त्रण गरिए पनि संक्रमण नियन्त्रणमा आउन सकेको छैन । माइजोगमाई गाउँपालिका–४ को एउटा गाउँमा घरैपिच्छे संक्रमित छन् । संक्रमित हुनेमा २० देखि ८८ वर्ष उमेर समूहका छन् । केही दिनअघिदेखि नै गाउँमा रुघाखोकीको लक्षण देखिएर स्थानीय बिरामी पर्न थालेका थिए । यो गाउँपालिकामा १ जनाको ज्यानसमेत गएको छ ।

अहिलेसम्म परीक्षण दायरा फराकिलो बनाउन नसक्दा धेरै संक्रमित बिनापरीक्षण नै बसिरहेका छन् । लामो समयसम्म सन्दकपुर गाउँपालिकामा कोही पनि संक्रमित भेटिएनन् । तर शुक्रबार भने सन्दकपुर–१ आलुबारीमा ३ जनालाई पोजिटिभ देखियो । जिल्लाको माङ्सेबुङ, फाकफोकथुमलगायतका भित्री गाउँमा पनि संक्रमितको संख्या थपिँदै गएको छ । इलाममा अहिलेसम्म कोरोनाका कारण १६ जनाको ज्यान गइसकेको छ । जिल्लामा ६ सय ५४ जनामा संक्रमण देखिएकामा ७३ जना निको भएका छन् । कान्तिपुरबाट

शेयर गरौ

ताजा अपडेट