काठमाडौं,१५ पुस । रोजगारीको गन्तव्य मुलुकमा अन्तर्राष्ट्रिय नियमित हवाई उडान सुचारु भए पनि मागपत्र प्रमाणीकरण रोकिएको र पुनः कोरोनाको जोखिम बढ्न थालेकाले रोजगारी अन्योलमा परेको छ ।विदेशमा उद्योग, व्यवसाय सुचारु भए पनि लामो समयसम्म मागपत्र प्रमाणीकरण नभएकै कारण नेपाली जान नपाएको वैदेशिक रोजगार व्यवसायीहरु बताउँछन् । खाडी मुलुकहरुमा कतारबाहेक अन्य मुलुकमा मागपत्र प्रमाणीकरण भएको छैन ।
यसैबीच, कोरोनाको जाेखिम देखापरेको भन्दै खाडीका केही मुलुक र अन्य मुलुकले पनि अन्तर्राष्ट्रिय हवाई तथा स्थलमार्ग आवागमन स्थगन गरेको बताए सँगै रोजगारीमा थप अन्योल हुने देखिएको हो । कतारमा जाने कामदारको हकमा पनि १४ दिन क्वारेन्टाइनमा आफनै खर्चमा बस्नुपर्ने नियमले कामदारलाई रोजगारीको लागि कतार पठाउन गा¥हो भएको वैदेशिक रोजगार व्यवसायी संघका सचिव मेघनाथ भुर्तेल बताउनुहुन्छ ।
कतार जाने कामदारले क्वारेन्टाइनमा बस्नको लागि १४ सय कतारी रियल खर्च गर्नुपर्ने सचिव भुर्तेल बताउनुहुन्छ । रोजगारदाताले क्वारेन्टाइन खर्च नदिने भएकाले कामदार आफँै नै खर्चको व्यवस्था गर्नुपर्ने भएकाले कतार जान समस्या देखापरेको उहाँ बताउनुहुन्छ ।
मागपत्र प्रमाणीकरणको विषयमा परराष्ट्र मन्त्रालय, श्रम मन्त्रालय लाई मागपत्र प्रमाणीकरण खोलिदिन आग्रह गरे पनि मागपत्र प्रमाणीकरण नभएकाले नेपालमा आउने श्रमिकको माग भारतलगायत अन्य देशमा जाने खतरा रहेको वैदेशिक रोजगार व्यवसायी भुर्तेल बताउनुहुन्छ ।