कोरोना बीमा भुक्तानी १२ हजारले पाए

काठमाडौँ, ३ पुस  । कोरोना भाइरसबाट सङ्क्रमित भई कोरोना बीमा दाबी गर्नेमध्ये १२ हजार १९३ जनाले दाबी भुक्तानी पाएका छन् । बीमा समितिले बिहीबार प्रकाशन गरेको तथ्याङ्क अनुसार १२ हजार १९३ कोरोना सङ्क्रमितले एक अर्ब १९ करोड सात लाख रुपियाँ दाबीबापत भुक्तानी प्राप्त गरेका हुन् ।
समितिका अनुसार दाबी भुक्तानीका क्रममा कागजपत्र पूरा भएका २३ हजार ५६ जनामध्ये १२ हजार १९३ जनाले भुक्तानी प्राप्त गरेका हुन् । हालसम्म ५० जनाको कोरोना बीमा दाबी दोहोरो परेका कारण दाबी नदिने निर्णय गरेको पनि समितिले जनाएको छ । समितिका अनुसार दुई हजार १११ जनाको दाबी प्रक्रियामा रहेको, दुई हजार ५५४ जनाको बीमा दाबी स्वास्थ्य सेवा विभागमा प्रमाणीकरणका क्रममा रहेको, एक हजार ११ जनाको फाइल स्वास्थ्य सेवा विभागमा पठाउन तयारी अवस्थामा रहेको र एक हजार ५७१ जनाको फाइल आवश्यक कागजात नपुगेका कारण सम्बन्धित कम्पनीमै फिर्ता गरिएको समितिले जनाएको छ । पछिल्लो समय सर्वाधिक चासो र चर्चाको विषय बनेको कोरोना बीमा र यसको भुक्तानीप्रति अर्थ मन्त्रालयले चासो व्यक्त गरेको थियो ।
कोरोना बीमाका बीमितहरूको दाबी भुक्तानीमा गुनासो बढ्दै गएपछि सरकारले यसबारे समयमै भुक्तानीमा चासो दिँदै आएको थियो । अर्थ मन्त्रालयले कोरोना बीमा मापदण्ड बमोजिम प्रक्रिया तथा कागजात पूरा भएका दाबीहरूको भुक्तानी तीन दिनभित्र गर्न निर्देशन पनि दिएको थियो ।
मन्त्रालयको निर्देशन अनुसार बीमा समितिले मन्त्रालयमा दैनिक रूपमा कोरोना बीमाको सङ्ख्या, कागजात पूरा भएको दाबीको सङ्ख्या, भेरिफिकेसनका लागि स्वास्थ्य सेवा विभाग पठाएको सङ्ख्या, नक्कली दाबीको विवरण, दाबी भुक्तानीको विवरण र सबै कागजात पूरा भई भुक्तानी हुन बाँकीको विवरण मन्त्रालयमा पठाउन निर्देशन दिएको थियो ।

शेयर गरौ

ताजा अपडेट