चितवन, १ पुस । रत्ननगर उद्योग वाणिज्य संघको वरिष्ठ उपाध्यक्षमा शंकर गिरी विजयी भएका छन । २१ औं साधारणसभा तथा नवौं अधिवेशनबाट उनी अध्यक्षमा निर्वाचित भएका हुन् । नेकपा प्यानलबाट अध्यक्षको उम्मेदवार बनेका गिरीले कांग्रेस प्यानलका देवेन्द्र कुमार श्रेष्ठलाई पराजित गरेका हुन् । जम्मा १३२५ मतदाता रहेको संघमा सोमबार भएको निर्वाचनमा ११९१ मत खसेको थियो । मंगलबार सकिएको मतगणनामा गिरीले ६०४ मत प्राप्त गरे भने उनका प्रतिद्धन्दी श्रेष्ठले ५४५ मत प्राप्त गरेको निर्वाचन अधिकृत रामकृष्ण अधिकारीले जानकारी दिनुभयो । अन्य पदाधिकारीमा पनि नेकपा प्यानलको बर्चश्व रहेको छ ।
बणिज्य तर्फको उपाध्यक्षमा भिमनारायण श्रेष्ठ बिजयी भएका छन् । उनले ५ सय ३७ मत ल्याए भने उनका निकटतम प्रतिस्पर्धी कविन घिमिरेले ३ सय ७७ मत ल्याए । सोही पदका लागि स्वतन्त्र उम्मेदवार देवी डल्लाकोटीले २ सय १३ मत ल्याए । यस्तै, उद्योग तर्फको उपाध्यक्षमा पुरु खनाल बिजयी भएका छन् । उनले ५ सय ८१ मत प्राप्त गरे भने निरञ्जन थापाले ५ सय ४१ मत ल्याए । यस्तै एसोसियट तर्फ राममणि थपलिया बिजयी भएका छन् । उनले ६६ मत प्राप्त गर्दा सोही पदका अर्का उम्मेदावर हरी अधिकारीले ५३ मत ल्याएका छन । संघको महासचिवमा निराजन खनाल विजयी भएका छन् । खनालले ६ सय ६३ मत प्रप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी माधव पौडेलले ४ सय ६० मत ल्याए । त्यस्तै कोषाध्यक्षमा उपेन्द्र आचार्य बिजय भएका छन् उनले ६ सय ४० मत प्राप्त गर्दा सोही पदका अर्का उम्मेदवार मिना उप्रेतीले ४ सय ७३ मत ल्याइन । महिला सदस्य तर्फ पनि नेकपा निकट प्यानलकी निर्मला सुबेदी बिजयी भएको निर्वाचन अधिकृत अधिकारीले जानकारी दिनुभयो ।