चितवनमा देशभरका ईटा उद्योगीको भेला, वातावरणमैत्री सञ्चालन गर्ने विधि सिकाइदै

चितवन समाचार डटकम
चितवन ४ फागुन । वातावरणमैत्री उद्योग सञ्चालन गर्ने विधि सिकाउनको लागि नेपालका २२ वटा ईटा उद्योगका सञ्चालक तथा मजदुरहरुको लागि चितवनमा तालिम शुरु भएको छ ।
सरकारले तोकेको मापदण्ड अनुसार सञ्चाल गर्दै वातावरणमैत्री उद्योग चलाउनको लागि उपयुक्त विधि सिकाउन चितवनको नारायणगढमा आजदेखि तालिम शुरु भएको हो । ईटा उद्योगसंग सम्वन्धीत कार्यक्रम गर्दै आएको ग्लोवल फियरनेस इनिसेसन नेपालको आयोजनामा तालिम शुरु भएको सस्थाका अधिकृत संयुक्ता भण्डारीले बताउनु भयो ।
ईटा पोल्दा उद्योगबाट निस्कने कालो धुवा कसरी हटाउन सकिन्छ, ईटाको गुणस्तरीयता कसरी वृद्धि गर्न सकिन्छ, उद्योगमा काम गर्ने मजदुरहरुले कम परिश्रममा धेरै काम कसरी गर्न सकिन्छ भन्ने विषयहरु तालिममा सिकाइने अधिकृत भण्डारीले जानकारी दिनु भयो । ईटा उद्योगमा काम गर्ने मजदुहरुसंगै आउने बालबालिकालाई शिक्षा, उनीहरुको अधिकार, मजदुरको अधिकार, उद्योगीले पालना गर्नु पर्ने नियम, नेपालको प्रचलित कानुन, प्रविधिको प्रयोग गरी नाफा कमाउने उपायहरु तालिममा सिकाइने तयारी रहेको विविएन परियोजनाका चितवन संयोजक रामचन्द्र आचार्यले जानकारी दिनु भयो ।
चितवन, नवलपरासी सहित ११ जिल्लाका २२ वटा उद्योगहरुका उद्योगी तथा त्यहाँ काम गर्ने मजदुरहरु तालिममा सहभागी भएका छन् । सन् २०१३ को अगष्टबाट नेपालमा सञ्चालन भएको व्रेटर ब्रिक परियोजना युथ क्लब नारायणगढ मार्फत चितवनका ईटा उद्योगमा पाँच वर्षदेखि चल्दै आएको छ । तालिमको उद्घाटन गर्दै ईटा उद्योग संघका केन्द्रीय उपाध्यक्ष तथा जिल्ला अध्यक्ष नारायणप्रसाद सापकोटाले यस्तो कार्यक्रमले उद्योगीलाई धेरै राम्रो प्रभाव पार्ने बताउनु भयो । आगामी दिनमा पनि यस्ता कार्यक्रमको खाचो रहेको उहाको भनाइ थियो ।
ईटा उद्योगमा बाल मजदुर लगाउने गरिएको, वधुवा मजदुर हुने गरेको भन्ने गलत मान्यतालाई चिर्न पनि यो तालिम महत्वपूर्ण हुने सापकोटाले बताउनु भयो । चितवनका ईटा उद्योगहरुमा बालश्रम नभएको भन्दै उहाले अभिभावकसंग आएका बालबालिकाले उद्योग भित्रै र नजिकैका विद्यालयमा अध्ययन गर्दै आएको जानकारी दिनु भयो । अध्ययनका लागि बिबिएनले सहयोग गरेको भन्दै प्रशंसा गर्नु भयो । कार्यक्रममा मनकामना ईटा उद्योगका सञ्चालक कृष्ण गौतमलगायतले मन्तव्य राख्नु भएको थियो । कार्यक्रम युथ क्लब नारायणगढका अध्यक्ष भगवानकुमार जोशीको सभापतित्वमा उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो । । तालिम चारदिनसम्म सञ्चालन हुने छ । तालिममा सहभागीहरुले छिमेकी जिल्लाका ईटा उद्योगमा स्थलगत अवलोकन गर्ने कार्यक्रम रहेको छ ।

शेयर गरौ

ताजा अपडेट