चितवन समाचारडटकम , फागुन ३ ।
चितवन राष्ट्रिय निकुञ्जले आज २४ वटा घडीयाल गोही राप्ती नदीमा छाडेको छ ।
निकुञ्जमा रहेको गोही प्रजनन केन्द्रवाट कसरा नजीक राप्ती नदीमा लगेर गोही छाडिएको चितवन राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत वेदवहादुर खड्काले चितवन समाचार डटकमलाई जानकारी दिनुभयो ।
अधिकृत खड्काका अनुसार आज राप्ती नदीमा छाडिएका मध्ये २ वटा भाले र २२ ओटा पोथी घडीयाल गोही रहेका छन् । दुर्लभ जीव गोहीको संरक्षणका लागी चितवन राष्ट्रिय निकुञ्जले घडीयाल गोही प्रजनन केन्द्र सञ्चालन गर्दै आएको छ । प्रजनन केन्द्रमा हाल ५ सयको संख्यामा घडीयाल गोही रहेको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ ।
आज छाडीएका गोही हरु ५ देखी ६ वर्ष उमेरका रहेको संरक्षण अधिकृत खड्काले जानकारी दिनुभयो । नेपालमा हाल करिव ८ सयको संख्यामा घडीयाल गोही रहेको अनुमान छ । ५ सय वटा चितवनमा र अन्य वर्दियामा घडीयाल गोही रहेको निकुञ्जका संरक्षण अधिकृत खड्काले जानकारी दिनुभयो ।