रत्ननगर नगरपालिकाले ल्यायो एक अर्ब १४ करोडको बजेट : कृषिमा रोजगारी र मानव स्वास्थ्य प्राथमिकता

चितवन १० असार । रत्ननगर नगरपालिकाले आर्थिक वर्ष २०७७÷७८ का लागि एक अर्ब साढे १४ करोड बराबरको बजेट सार्वजनिक गरेको छ ।
कृषि र स्वास्थ्यलाई प्राथमिकता दिएर सो नगरपालिकाले सो आर्थिक बर्षका लागि एक अर्ब १४ करोड ६१ लाख ६५ हजार रुपैया बराबरको बजेट ल्याएको हो । कोरोना भाइरसले मुलुकका प्रभाब पारिरहेका बेला सो नगरपालिकाले कोरोना नियन्त्रण र विदेशबाट फर्केर आउने युवाहलाई कृषिमा रोजगारी प्रदान गर्ने गरी बजेट ल्याएको हो ।
कुल बजेट मध्य सो नगरपालिकाले आन्तरिक आम्दानीबाट १० करोड, राजश्व बाँडफाडबाट १३ करोड ७९ लाख ५५ हजार,अन्य आय २ करोड ६० लाख, वित्तीय हस्तान्तरण तर्फ केन्द्र सरकारबाट प्राप्त ७४ करोड ९ लाख २० हजार, प्रदेश सरकारबाट ११ करोड ६२ हजार,अन्तर स्थानीय तहबाट १ करोड ५० लाख र जनसहभागिताबाट एक करोड रुपैया आम्दानी गर्ने लक्ष्य रहेको छ ।
सो नगरपालिकाले आर्थिक बर्ष २०७७÷७८ मा चालु खर्च तर्फ ६६ करोड ८८ लाख, ६५ हजार र पुँजीगथ खर्च तर्फ ४७ करोड रुपैया खर्च हुने अनुमान गरेको छ । सातौ नगर सभामा मेयर नारायण वनले नीति तथा कार्यक्रम र उपमयर विमला दुवाडीले बजेट प्रस्तुत गरेकी थिइन । पूर्वाधार विकासमा ३ करोड २४ लाख ५० हजार,कृषि क्षेत्रमा ७८ लाख ८१ हजार,पशुपंछी विकासमा ७८ लाख १३ हजार, सहकारी, उद्योग, बाणिज्य, पर्यटन एक करोड ५८ लाख, शिक्षामा ८४ लाख ५८ हजार, स्वास्थ्यमा ८५ लाख, प्रशासनिक खर्चमा १९ करोड रुपैया विनियोजन गरिएको छ ।
नीति तथा कार्यक्रम अन्तर्गत स्वास्थ्य क्षेत्रमा कोरोना नियन्त्रणलाई प्राथमिकता दिइएको छ । कोरोना नियन्त्रणको लागि अस्पतालमा आइसोलेशन वेड,व्यवस्थित क्वारेन्टाइन निर्माण,स्वास्थ्यकर्मीलाई सुरक्षा सामाग्री सहित प्रोत्सहान भत्ता लगायतका कार्यक्रम सार्वजनिक गरिएको छ । स्वास्थ्य तर्फ नै सुत्केरी आमा र शिशुको सुरक्षाका लागि उपमेयर संग महिला स्वास्थ्य कार्यक्रम ल्याइएको छ भने बृद्धबृद्धालाई घरघरमै उपचार कार्यक्रमलाई निरन्तरता दिइएको छ ।
कृषि तर्फ सो नगरपालिकाले नगर क्षेत्रमा रहेको बाँझो जमिनमा सामुहिक खेती गर्न अनुदान दिने, बधशालादेखि भन्सासम्म स्वच्छ मासु अभियान अन्तर्गत सुविधा सम्पन्न बधशाला सञ्चालन गर्ने, कृषि उत्पादनलाई संरक्षण गर्न नेपालमै पहिलो कृषि अस्पताल सञ्चालन गर्ने नीति तथा कार्यक्रममा जनाइएको छ । सामुहिक तथा सहकारी चक्लाबन्दी खेतीलाई विशेष प्राथमिकता दिइने मेयर वनले बताए । शिक्षा तर्फ सो नगरपालिकाले कोरोना भाइरसको महामारीले प्रभावित शिक्षालाई माथी उकास्ने गरी शिक्षण शिकाईलाई प्रभावकारी बनाउन लगानी गर्ने, शिक्षालाई जीवन उपयोगी बनाउन सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा सञ्चालनलाई निरन्तता दिने, विद्यालयमा विद्यार्थी टिकाउन दिवा खाजा सञ्चालन गर्ने योजना बनाएको छ ।
वालवालिकालाई विद्यालयमा ल्याऔं,टिकाउ र सिकाउ अभियान सञ्चालन गर्ने र अभियान अन्तर्गत असहाय तथा टुहुरा वालवालिकालाई नगरपालिकाले अभिभाबकत्व प्रदान गरेर शिक्षा प्रदान गरिने मेय वनले बताए । पर्यटन विकास तर्फ सो नगरपालिकाले नगर क्षेत्रमा आधुनिक पर्यटन बसपार्क,सुचना केन्द्र निर्माण गरिने छ ।
पर्यटन विकासकै लागि रत्ननगर ५ झुवानीमा नेपाल सरकारको सहयोगमा निर्माणाधिन बहुसांस्कृतिक पार्क निर्माण सम्पन्न गर्ने, सौराहामा पूर्वी चितवन स्तरको सौराहा इकापार्क तथा बहुसांस्कृतिक ग्राम,मनीखोला पार्क निर्माण गरिने छ । ग्रामिण पर्यटनको रुपमा चिनिदै आएको होम स्टेलाई नमुनाको रुपमा सञ्चालन गर्ने लक्ष्य रहेको छ । नेपाल सरकारको लगानीमा सौराहामा निर्माणाधिन सिटीहल र टाँडी चोकमा निर्माणाधिन आकासे पुलको निर्माण कार्य यसै बर्ष सम्पन्न गरिने मेयर वनले बताए । नगर सभामा राजश्व परामर्श समितिका संयोजक तिलकराज शर्मा, विपद् व्यवस्थापन समितिका संयोजक बलराम दाहाल, आर्थिक विकास समितिका संयोजक गोविन्द भट्टराई, वडाध्यक्ष राजन भट्टले कार्य प्रगति प्रतिवेदन प्रस्तुत गरेको नगर प्रबक्ता राजेन्द्र हमालले जानकारी दिए । मेयर वनको अध्यक्षतामा भएको नगर सभामा प्रमुख प्रशासकीय अधिकृत टुवराज पोखरेलले सहजीकरण गरेका थिए ।

शेयर गरौ

ताजा अपडेट