चितवन समाचार डटकम , १० असार ।
भरतपुर महानगरपालिकाले महानगरभित्र संचालित विभिन्न व्यवसायलाई कोरोनाले निम्त्याएको आर्थिक संकटलाई मध्येनजर गर्दै कर छुटकाे घाेषणा गरेकाे छ ।
नगरसभा प्रमुख रेनु दाहालले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै पर्यटन र मनोरञ्जन व्यवसायीहरुलाई करमा २५ प्रतिशत र अन्यलाई १५ प्रतिशत छुट दिइने घाेषणा गर्नुभएको हाे ।
कर तिर्नु कर्तव्य मात्र होइन गौरव पनि हो” भन्ने सोच विकास गर्न स्वयं कर निर्धारण पद्धतिमार्फत् करदातालाई नै पहिलो कर प्रशासकको रुपमा लिने गरी कर सम्बन्धी कानूनी व्यवस्था गरिने कार्यक्रममा उल्लेख छ । महानगरको कर प्रशासनलाई चुस्त, सरल, प्रविधिमैत्री एवं करदातामैत्री बनाई अधिकतम कर सहभागिता सुनिश्चित गरिने उल्लेख गरिएको छ। महानगरपालिकाको आन्तरिक श्रोत साधनको प्रभावकारी परिचालन गर्न प्रगतिशील कर प्रणालीको विकास, करको दायरा विस्तार गर्नुका साथै राजस्व चुहावटको पूर्ण नियन्त्रण गरिने याेजना छ ।महानगरपालिकाका सम्पूर्ण करदाताहरूको तथ्याङ्क तथा अभिलेख विद्युतीय प्रणालीमा अद्यावधिक गरिनुको साथै राजस्व असुली कार्यमा विभिन्न निकायहरूसँग समन्वय तथा सहकार्य गरी कर परिचालनमा अभिवृद्धि गरिने जनाइएको छ ।सबै करदाताको विवरण डिजिटल प्रणालीमा आबद्ध गरी प्रत्येक करदातालाई एकीकृत कर पोर्टल (Integrated Tax Portal)अन्तर्गत व्यक्तिगत कर पहिचान नम्बर (Individual Tax Identity) प्रदान गरिने उल्लेख गरिएको छ ।महा नगरपालिकाभित्र संचालन हुनेगरी अनुमति लिएका संघ-संस्था एवं व्यापार व्यवसाय दर्ता र नवीकरण हुनुपूर्व महानगरपालिकामा अनिवार्य दर्ता हुनुपर्ने र खारेजी हुनुपूर्व महानगरपालिकाको सिफारिस अनिवार्य लिनुपर्ने व्यवस्थालाई कडाईपूर्वक लागू गरिने कार्यक्रम सार्वजनिक गरिएको छ ।


