काठमाडौ ७ असार । सर्वोच्च अदालतले लकडाउन पूर्ण रूपमा खुलेको १ महिनापछि कर बुझाउनको लागि व्यवसायीलाई बाटो खुला राखे पनि असार लागेसँगै कर बुझाउनको संख्या बढेको छ ।
चैत महिनापछि अवरुद्ध कर जेठ अन्तिम साताबाट दाखिला बढेको छ । असारमा मात्रै करिब १८ अर्ब रुपैयाँ बराबरको राजस्व उठेको छ ।
महालेखा नियन्त्र कार्यालयका अनुसार कात्तिक, चैत र असार मसान्तको दिनबाहेक अन्य दिनको औषत राजस्व करिब २ अर्ब रुपैयाँ हो । तर, शुक्रबार मात्रै ७ अर्ब रुपैयाँ बढीको राजस्व दाखिला भएको छ । सरकारकी खर्चको लेखा राख्ने महालेखा नियन्त्रक कार्यालयको तथ्यांकले शुक्रबार ५ अर्ब ५३ करोड रुपैयाँको राजस्व उठेको जनाएको छ ।
तर, ठूला करदाता कार्यालयको तथ्यांकअनुसार शुक्रबार यो कार्यालयले मात्रै ५ अर्ब ५० करोड रुपैयाँभन्दा बढी राजस्व उठेको छ । अन्य कार्यालयहरूबाट समेत गरी शुक्रबार ७ अर्ब रुपैयाँ बढीको राजस्व उठे पनि चेकहरू कलेक्सन नभएको कारणले गर्दा कलेक्सन भएको चेकको विवरण मात्रै महालेखाले राख्ने गर्छ ।
‘कतिपय चेकहरू कलेक्सन गर्न बाँकी रहेको र राष्ट्र बैंकले अर्को दिन कलेक्सन गरिदिने भएको कारणले वास्विक विरण नआएको हुनसक्छ । शुक्रबार ठूला करदाता कार्यालयबाट मात्रै साढे ५ अर्ब रुपैयाँ राजस्व संकलन भएको छ’ ठूला करदाता कार्यालयका प्रमुख झलकराम अधिकारीले भने, ‘शनिबार पनि स्वेच्छाले कर संकलन भएको थियो ।’
सरकारले चैतदेखि रोकिँदै आएको राजस्व असार ७ गतेभित्र र आयकर असार १५ गतेभित्र बुझाउनको लागि ताकेता गरेको थियो । तर, २८ जेठको सर्वोच्च अदालतको अन्तरमि आदेशले लकडाउन पूर्ण रूपले खुलेको १ महिनासम्म यस्तो सुविधा दिनको लागि सरकारको नाममा आदेश जारी गरेको थियो ।


