रामनगर माध्यमिक विद्यालयको नयाँ भवनको सिलान्यास

चितवन ६ असार । भरतपुर महानगरपालिका १ रामनगरमा रहेको रामनगर माध्यमिक विद्यालयको नयाँ बन्ने भवनको सिलान्यास भएको छ ।
अध्ययनका लागि बन्ने तीनको कोठे भवनको भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले शनिबार सिलान्यास गर्नु भएको हो । शैक्षिक क्षेत्रको विकासका लागि भौतिक पूर्वाधारपनि एक महत्वपूर्ण भाग रहेको मेयर दाहालले बताउनु भयो । महानगरपालिकाले शिक्षाको विकासका लागि विशेष ध्यान दिएको सो अवसरमा बताउनु भएको थियो । भवन अपाङग मैत्री हुनेछ ।
भरतपुर महानगर भित्रका एकसय ४ वटा सामुदायिक विद्यालयको नयाँ भवन निर्माण हुन क्रममा रहेको छ । महानगरले आर्थिक वर्ष ०७६÷७७ को बजेटबाट ती विद्यालयहरुको संरचना निर्माणको क्रम जारी रहेको छ । महानगर भित्र एक सय २३ वटा सामुदायिक विद्यालय छन् ।
भवनसंगै शौचालय र खानेपानी र फर्निचरका लागि समेत बजेट विनियोजन गरिएको छ । नयाँ निर्माण हुने भवनहरु चार कोठे, तीन कोठे र दुई कोठे हुनेछन् । करिब १८ करोडको लागतमा निर्माण हुन लागेको भवन निर्माण कार्यक्रमका लागि केन्द्र, प्रदेश र स्थानीय सरकारले बजेट विनियोजन गरेको छ । संघीय सरकारबाट एक करोड ३३ लाख र भरतपुर महानगरको अन्तरिक स्रोतबाट रु ४ करोड ९५ लाख छुटाइएको छ । भवन निर्माणको काम बहुवर्षिय योजना अनुसार अघि बढ्ने महानगर प्रमुख दाहालले बताउनु भयो ।
सिलान्यास कार्यक्रममा नेकपा चितवनका सचिवालय सदस्य नारायणप्रसाद अधिकारी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भरत कुँबर, प्रधानाध्यापक शिवप्रसाद लम्साल, सल्लाहकार टंक न्यौपाने, मधुकर न्यौपानेलगायतको सहभागिता रहेको थियो ।

यसै बिच रामनगरमा बृक्षारोपण गरिएको छ । भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालको उपस्थितिमा सयौ विरुवा रोपिएको हो ।
बृक्षारोपणपछि महानगर प्रमुख दाहालले महानगरलाई सुन्दर, हराभरा र रमणीय बनाउन बृक्षरोपण अभियानलाई निरन्तरता दिइएको बताउनुभयो । हरेक वडामा बृक्षारोपणका अभियान संचालन भइरहेकाले असार महिनामा यसलाई तिब्रता दिने जानकारी दिनु भयो ।

नेकपा चितवनका सचिवालय सदस्य तथा क्षेत्र नं. २का संयोजक नारायणप्रसाद अधिकारीले वृक्षारोपणमा हरेक नागरिकको साथ र सहयोग आवश्यक रहेको बताउनु भयो । आज रुद्राक्ष, पिपल, हर्रो, बर्रो, अमिलो, कपुर, अमला लगायत गरी तीनसय विरुवा रोपिएको थियो । सो अवसरमा नेकपा चितवन क्षेत्र नं. २ का संयोजक नारायण अधिकारी, रामनगर वजार व्यवस्थापन समितिका अध्यक्ष तारा कुँबर लगाएतले विरुवा रोप्नु भएको थियो ।

शेयर गरौ

ताजा अपडेट