कालिका नगरपालिकाले कोरोनाका कारण रोजगार विहीन भएकालाई काम दिने

चितवन ५ असार । कालिका नगरपालिकाले कोरोनाका कारण रोजगारी गुमाएकालाई आत्मनिर्भर बनाउने कार्यलाई प्राथमिकता दिने भएको छ ।
कालिका नगरपालिकाको छैठौं नगर सभामा शुक्रबार नगर प्रमुख खुमनारायण श्रेष्ठले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कोरोनाका कारण रोजगारी गुमाएका वा विदेशबाट घर फर्किएका नागरिकलाई रोजगारी सिर्जना गर्ने कार्यलाई आगामी वर्षको प्राथमिकतामा रहने जनाइएको छ ।
यो वर्ष नगरपालिकाले कोरोना कोभिड १९ को महामारीको जोखिमबाट नगरबासीलाई सुरक्षित गर्ने कार्यलाई प्रमुख प्राथमिकतामा राखेको छ । महामारी नियन्त्रणका लागि नगरपालिकाले आफ्नो सम्पूर्ण सामथ्र्य प्रयोग गर्ने आफ्नो नीति तथा कार्यक्रममै समावेश गरेको छ ।
यसैबीच भूमीहीन र विपन्न जनताका लागि संघीय सरकार र प्रदेश सरकारसँग समन्वय गरी भूमिहिन बाढी पीडित र अव्यवस्थित बसोबास गरेकालाई आवासको सुनिश्चित गर्ने कार्यक्रमले जोड दिएको छ ।

नगरपालिकाले यो वर्षपनि जनताका लागि मेयर आवास कार्यक्रमलाई निरन्तरा दिएको छ । सहरीकरणलाई व्यवस्थित गर्न खुल्ला स्थानहरुको प्रयाप्त व्यवस्था गरी खुल्ला पार्कहरुलाई सार्वजनिक खुल्ला व्यायमशालाको रुपमा विकास गर्ने र विस्तार गर्दै लैजाने कार्यक्रमलाई यो वर्ष थप गरेको छ । सरकारी तथा सार्वजनिक जग्गाको संरक्षण गर्ने जस्ता कार्यक्रम यो वर्षपनि संचालन गरिनेछ ।

नगरपालिकाले यो वर्ष आर्थिक विकास कार्यक्रम अन्तर्गत कृषि, उद्योग, बाणिज्य, पर्यटन, सहकारी र वित्तिय क्षेत्रलाई समेत प्राथमिकतामा राखेको छ । कोरोना महामारीका कारण विदेशवाट फर्किएका युवाहरुका लागि कृषि क्षेत्रमा रोजगारी सिर्जना गर्ने नीति लिएको छ । यस्तै कृषि उद्यमलाई प्रोत्साहन गर्न समुदायमा आधारित बजार व्यवस्थापन गर्ने, नगरस्तिरीय विक्री केन्द्रहरुको स्थापना र संचालन गर्ने नीति छ । कृषि क्षेत्र अन्तर्गत नै नयाँ प्रविधिमा आधारित माछापालनका लागि इच्छुक कृषकहरुलाई तालिमको व्यवस्था गरी प्रविधिमा अनुदानको व्यवस्था गरी माछापालनलाई आकर्षक व्यवसायको रुपमा विकास गर्ने नीति छ । यस्तै नगरपालिकाको सामाजिक विकास तर्फ खेलकुद, संस्कृति प्रवद्र्धन, खानेपानी, स्वास्थ्य तथा लैङ्गिक सामानता र सामाजिक समावेशीकरणको नीतिलाई यो वर्ष पनि प्राथमिकतामै राखिएको छ ।
विपन्न तथा दलित छात्र छात्रालाई उच्च प्राविधि शिक्षामा अनुदान दिने, व्यवसायिक शिक्षामा जोड दिँदै जेहेन्दार तथा विपन्न छात्रवृतिका कार्यक्रम संचालनत गर्ने र आवासीय छात्राबासको व्यवस्था गरी शिक्षामा पहुँच विस्तार गर्ने नीतिलाई निरन्तरता दिइएको छ । प्रदेश सभासंग समन्वय गरी क्याम्पस संचालनका लागि पहल गर्ने नगरको योजना छ ।

यसैबीच पूर्वाधार विकास तर्फ उर्जा, संचार, स्थानीय सडक पुल, सिंचाई, खानेपानी पूर्वाधार, भवन तथा सहरी विकासका कार्यक्रमलाई पनि यो वर्ष नगरले आफ्नो नीति तथा कार्यक्रममा प्राथमिकतामै राखेर समावेश गरेको छ । नगरपालिकाले सडकको स्थानीय मापदण्ड तयार गरी लागु गर्ने भनेको छ । स्थानीय सडकलाई अभिलेखीकरण गरी सडकको अधिकारक्षेत्र छुट्टाई सडक किनारमा फूटपाथ निर्माण र हरियाली बनाउने गुरुयोजना तयार गर्दै अगाडी बढ्ने नीति छ ।

नगरपालिकाले चक्रपथ निर्माण तथा नगरभित्रका सहायक सडकहरुलाई मुख्य सडक संजालसँग जोड्ने कार्यलाई प्राथमिकता दिएको छ । सबै सडकहरु कालोपत्रे गर्दै लगिनेछ । पहाडी मार्ग निर्माणलाई प्राथमिकता दिइनेछ । सबै वडाहरुबाट माग भएका आयोजनाहरुको सुचीकरण गरी योजना बैंक तयार गर्ने र आगामी आर्थिक वर्षहरुमा सोही योजना बैंकबाट आयोजना छनौट गरी कार्यान्वयन गर्दै लैजाने गरी विकासको योजना तयार गरिनेछ । यस्तै निमार्ण सामाग्रीहरुको गुणस्तर सुनिश्चित गर्न निर्माण सम्बन्धी एक आधुनिक प्रविधियुक्त प्रयोगशाला स्थापना र संचालन गरिनेछ । यस्तै कयरखोला र सिन्ती खोलामा पक्की पुल निर्माण गरी दुर्गम भौगोलिक अवस्था भएको वडा नं. १० र ११ लाई यातायात प्रणालीमा जोड्ने कार्यक्रमलाई कार्यान्वयन गर्ने योजना छ । खगेरी खोलामा पुल निर्माण गरी भरतपुर महानगरपालिका सम्मको आवागमनलाई थप सहज तुल्याईनेछ ।

शेयर गरौ

ताजा अपडेट