चितवन ३१ जेठ । कालिका नगरपालिकाले यस वर्ष २१ किलोमिटर कालोपत्रे सम्पन्न गर्ने तयारीमा रहेको छ ।
नगरपालिका अन्तरगत २० स्थानमा २१ किलोमिटर भन्दा धेरै कालोपत्रे कार्य अन्तिम चरणमा रहेको कालिका नगरपालिका प्रमुख खुमनारायण श्रेष्ठले जानकारी दिनु भयो ।
नगरपालिकाको तराइ क्षेत्रका सबै बाटोमा कालोपत्रे गर्ने अभियान स्वरुप काम अगाडि बढीरहेको छ । नगरपालिकाबाट भरतपुर जानको लागि ५ वटा ठुला लामो बाटोमा कालोपत्रे सम्पन्न भैसकेको उहाँको भनाइ छ ।
चालु आर्थिक वर्षमा मात्रै २१ किलोमिटर एकसय ७१ मिटर कालोपत्रे अन्तिम चरणमा पुगेको छ । यसका लागि २० करोड ८६ लाख ४९ हजार छ सय ४७ रुपियाँ ठेक्का सम्झौता भएर काम भइराखेको नगरपालिकाका इन्जिनियर राजेश कोइरालाले जानकारी दिनु भयो ।
यस अन्तरगत शक्तिखोर बजारबाट वडा नं. ८ रु ९ को सिमाना सडक ३ किलोमिटर दुइसय ७० मिटर कालोपत्रे हुदैछ । यो यस वर्षमा लामो कालोपत्रे हो । त्यस्तै सबैभन्दा छोटो कालोपत्रेमा एकसय ४० मिटर रहेको छ । पालिकाको २० स्थानमा यस वर्ष कालोपत्रे हुदैछ भने आउदो वर्षमा पनि कालोपत्रे कार्यलाई निरन्तरता दिने प्रमुख श्रेष्ठले बताउनु भयो ।

कालोपत्रे सडक पहाडी क्षेत्रका वडामा पनि लैजाने काम भइराखेको कालिका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत यज्ञ पुरीले जानकारी दिनु भयो । नगरपालिकाका अनुसार शक्तिखोर र सिद्धि क्षेत्रमा पनि सडकलाई फराकिलो पार्ने र कालोपत्रेको लागि तयारी अवस्थामा बनाउने काम भइराखेको जानकारी दिएको छ ।


