चितवन, २५ जेठ । नेपालमा झण्डै तीन महिनापछि तोकिएको सुनचाँदीको मुल्य अहिलेसम्मकै महँगो दररेटको रहेको छ । लकडाउन लागु भएपछि ११ चैतपछि सुनचाँदीको मुल्य तोकिएको थिएन ।
आइतबार नेपाल सुनचाँदी व्यवसायी महासंघले जारी गरेको विवरणअनुसार सुन (फाइन गुणस्तर)को मूल्य प्रतितोला ८७ हजार ४ सय रुपैयाँ पुगेको छ ।
१० चैतमा ७७ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो । साढे दुई महिनामा १० हजार ४ सय रुपैयाँले सुनको मूल्य बढेको हो । यसअघि अन्तर्राष्ट्रिय बजारमा सुनको मुल्य बढिरहेको थियो ।
चाँदीको मूल्य पनि प्रतितोला २०५ रुपैयाँले बढेको छ । चाँदीको आजको मुल्य ९२५ रुपैयाँ छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस १ हजार ६ सय ८४ अमेरिकी डलर आसपास छ । साढे २ महिनाअघि प्रतिऔंस १ हजार ४८४ अमेरिकी डलर आसपास थियो ।
त्यस्तै नेपाल सुनचाँदी व्यवसायी महासंघका उपाध्यक्ष विपिन रामुदामुले यहि जेठ २३ गते महासंघको १६ औं कार्यसमितिको बैठक बसी सुनचाँदीको दरभाउलाई जेठ २५ गते आइतबारदेखि निरन्तरता दिने निर्णय गरिएको जानकारी दिएका छन् । महासंघले शनिबार प्रवक्ता मनोजकुमार शाहद्वारा हस्ताक्षर गरिएको प्रेस विज्ञप्ती जारी गर्दै उक्त निर्णयको सार्वजनिक गरेको थियो । नेपालमा सुनचाँदीको दरभाउ निर्धारण गर्ने आधिकारिक निकाय नै नेपाल सुनचाँदी व्यवसायी महासंघ हो ।