चितवन समाचारडटम
भरतपुर, २९ माघ
नेपाली काङ्ग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले अहिलेको सरकार जन अपेक्षा अनुसार काम गर्न नसकेको बताउनु भएको छ । चितवनको भरतपुर विमानस्थलमा भएको पत्रकार भेटघाट कार्यक्रममा नेता पौडेलले सो कुरा बताउनु भएको हो । वर्तमान सरकार दुई तिहाईको सरकार भएकाले जनताको आशा धेरै रहेको उहाँको भनाई रहेको थियो ।
ने.वि संघका विषयमा पत्रकारले राखेको जिज्ञासामा जवाफ दिदै नेता पौडेलले संघको विषय अब समाधान हुने जिकिर गर्नुभयो । नेविसंघको कार्यसमितिबारे निर्णय लिन नसक्दा अध्यक्ष नैनसिंह महरले हिजो राजीनामा दिएका थिए । उहाँले भन्नुभयो,“ नेपाल विद्यार्थी संघका केन्द्रिय अध्यक्षले हिजो राजिनामा दिनुभयो अब विधान अनुसार संघ अगाडी बढ्नेछ,” ।
महासमिति बैठकमा भएको सहमति कार्यान्वयन हुनु पर्ने :
नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले महासमिति बैठकमा भएको सहमति कार्यान्वयन हुनु पर्नेमा जोड दिनु भएको छ ।
नेपाली काङ्ग्रेसमा अहिले केन्द्रिय पदाधिकारी र सदस्य स्वत महाधिवेशन र क्षेत्रीय प्रतिनिधि बन्ने नबन्ने बिषयले नेपाली कांग्रेसमा आन्तरिक विवाद चुलिएको छ । “अहिले काङ्ग्रेस नेतृत्वले न त राम्रोसँग पार्टी चलाएको छ न त बलियो प्रतिपक्ष भुमिका निभाएको छ” वरिष्ठ नेता पौडेलले भन्नुभयो ।