चितवन १५ जेठ । बन्दाबन्दीले गर्दा तरकारी बिक्री नभएपछि चितवनका किसानले फलेको तरकारीबाली जोतेका छन् ।
बन्दाबन्दी (लकडाउन)ले गर्दा बजारसम्म लैजान नपाएपछि किसानले बारीमा ट्याक्टर लगाएर जोतेका हुन् । उचित मुल्य नपाएको भन्दै गतवर्ष पनि चितवनका किसानले बारीमा नै जोतेका थिए । खैरहनी नगरपालिका वडा नं.१ वहेराका किसान बासुदेव सापकोटाले १२ वर्षपछि तरकारी खेतीमा ट्याक्टर लगाएर जोताउन वाध्य हुनु भयो । ।
यस पटक लकडाउनले गर्दा वजार मुल्य नपाएपछि किसान सापकोटाले १२ कठ्ठामा लगाएको भिन्डीबारी जोत्नु भएको हो । उहाले भन्नु भयो ‘लाखौ लगानी गरेर लगाएको तरकारी फलेपछि बिक्री गरौला भनेको बजार लैजान सकिएन त्यही भएर बाध्य भएर जोत्नु प¥यो ।’ वैशाख महिनामा १२ हजार रुपियाँको मात्र भिन्डी बिक्री गरे, अहिले बिक्री हुनै छाड्यो उहाले भन्नु भयो ।
लकडाउन लम्बिदा जिल्लाका तरकारी किसानले बजार पाएका छैनन् । किसान सापकोटाले आफ्नो परिश्रमबाहेक ७ कठ्ठामा ६५ हजार रुपैया खर्च गरेर भिन्डी लगाउनु भएको थियो । सुरुमा केही बिक्री भयो, अहिले सित्तैमा लैजान समेत मान्दैनन् किसान सापकोटाले भन्नु भयो बोटमा छिप्याएर राख्नु भन्दा जोतेर अर्को बालीको तयारी गर्न उपयुक्त ठाने ।
सोही वडाका अर्का स्थानीय कृष्णप्रसाद सापकोटाको वारीमा लगाएको भिण्डीले बजार नपाएपछि उहाँपनि चिन्तित हुनु भएको छ । २३ कठ्ठामा तरकारी खेती गर्दै आउनु भएका उहाले ६ कठ्ठामा भिन्डी लगाउनु भएको छ । अन्य तरकारीले वजार पाए पनि भिण्डीले भने मुल्य नपाउँदा चिन्ता लागेको छ । भिन्डीसंगै जोडिएको जग्गामा मकै खेती गरेकाले एकै पटक जोत्ने तयारी रहेको उहाले बताउनु भयो । विदेशबाट फर्केर स्वदेशमै तरकारी खेती सुरु गर्नु भएको उहाले यसैबाट छोराछोरी पढाउने, घर खर्च चलाउने गर्नु भएको थियो । तरकारी खेती गर्ने किसानलाई उत्पादन गरेको वस्तुको समर्थन मुल्य सरकारले तोक्नु पर्ने उहाको भनाई छ । ‘लागत मुल्य समेत नपाउने अवस्था छ’ किसान सापकोटाले भन्नु भयो ‘सरकारले न्युनतम मुल्य तोकेर उत्पादित वस्तुको वजार ग्यारेन्टी गर्नुपर्छ ।’
उत्पादित तरकारी स्थानीय ग्रामिण ताजा तरकारी तथा फलफुल उत्पादक सहकारी संस्था मार्फत तरकारी बिक्री गर्दै आएका छन् । सहकारीका अध्यक्ष पूर्णदत्त जैसी क्षेत्रीले लकडाउनका कारण तरकारी संकलनको काम वन्द भएको जानकारी दिनु भयो । यहाँ उत्पादन भएको तरकारीको मुख्य वजार नारायणगढ,काठमाडौ र पोखरा हो ।
अन्य जिल्ला लैजान अहिले समस्या छ सहकारीका अध्यक्ष जैसीले भन्नु भयो विचौलिया हाबी हुँदा तरकारीले उचित मुल्य पाउन सकेन । उहाका अनुसार वजारमा उपभोक्ताले खरिद गर्दा प्रतिकिलो भिन्डीको एक सय रुपैयासम्म पर्ने गरेको छ । खैरहनी वडा नम्वर १ मा अहिले तीनसय किसान व्यवसायिक रुपमा तरकारी खेती गर्दै आएका छन् । तीन सिजन यहाँ तरकारी उत्पादन हुन्छ । सहकारीका अध्यक्ष जैसीका अनुसार खैरहनी वडा नम्वर १ बाट मात्रै वार्षिक ९ करोडको तरकारी उत्पादन हुदै आएको छ ।
पूर्वी चितवन जस्तै जिल्लाको पश्चिम चितवन र इच्छाकामना गाउपालिका क्षेत्रमा पनि सयौ हेक्टरमा व्यवसायिक तरकारी खेती हुदै आएको छ । तर लकडाउनको कारणले गर्दा किसानले उत्पादन गरेको तरकारी जिल्ला बाहिर लैजान सहज वातावरण नभएको कारण मुल्य नपाएको फलफूल तथा ताजा तरकारी थोक बजार क्षेत्रपुरका निर्देशक थिरप्रसाद धिताल बताउनु हुन्छ ।
होटल, रेष्टुरेन्ट, बजार बन्द हुने, तरकारीको खपत हुने ठुलो बजार बन्द भएको कारण माग कम हुदा मुल्य नपाएको उहाले बताउनु भयो । जिल्लामा उत्पादन भएको करेला, भिण्डी, बोडी, लौका, खुर्सानी, फर्सीलगायतको तरकारीले अहिले बजार पाएको छैन । केही दिनपछि जिल्लाको अन्य स्थानमा पनि तरकारी बारी जोत्न सुरु हुने तरकारी खेती गर्दै आएका किसानले जानकारी दिएका छन् ।
फोटो ध्रुबराज खानाल