चितवन समाचार डटकम,
१ चैत । यस वर्षको मौसम प्रतिकुल हुदा मौरी पालक किसानलाई नोक्सानी भएको छ ।
मौरीले रस चुस्ने समयमा वर्षा हुने र प्रयाप्त फूल नफुल्दा मह उत्पादनमा ६० प्रतिशतले गिरावट आउने भएको हो । नेपाल मौरी पालक महासंघका केन्द्रीय अध्यक्ष शिव पौडेलले भन्नु भयो ‘यस वर्ष हाम्रा लागि कुनैपनि हालतमा राम्रो समय भएन, गत वर्षको तुलनमा ६० प्रतिशत उत्पादन कमी हुनेछ ।’ वर्षाले गर्दा तोरी, चिउरीलगायतको फूल कम फुलेकाले मौरीले रस चुस्न पाएन त्यही भएर मह उत्पादनमा समस्या आएको छ उहाले भन्नु भयो ।
मौरीको लागि चरनको अभाव भएको छ । बालीमा विषादीको प्रयोग, संक्रमण, मौरीको वंश सुधार नगर्नुलगायतले मौरी किसान विस्तापित हुने अवस्थामा पुगेको अध्यक्ष पौडेलले भन्नु भयो । पौडेलका अनुसार मिलिफेरा जातको मौरीले गत वर्ष ३५ सय मेट्रिक्टन मह उत्पादन गरेको थियो । यस वर्ष मुस्किलले १५ सय मेट्रिक्टन मह उत्पादन हुने अनुमान गरिएको छ उहाले भन्नु भयो । त्यस्तै सेरेना जातको लोकल मौरीको उत्पादनमा भारी गिरावट आउने भएको छ ।
यस वर्ष मौरी पालक किसानलाई समय अनुकुल नरहेको मौरी विकास कार्यक्रम भण्डाराका प्रमुख शिव रिजालले जानकारी दिनु भयो । पटकपटक आएको वर्षाको कारणले मौरी मर्ने, मह उत्पादन घट्ने, चरणको अभाव, कुपोषण, माइक्रो संक्रमण, सुलसुले जस्ता कारणले समस्या आएको छ रिजालले भन्नु भयो । सबै भन्दा धेरै चरणको अभाव भएको छ उहाले भन्नु भयो कात्तिकदेखि फागुनसम्म बालीको फूल राम्रोसंग फुल्न पाएन, चिउरीपनि ढिला र थोरै फुल्यो त्यसको असर मौरीमा परेको छ ।
रिजालले भन्नु भयो अर्को ठुलो समस्या नश्ल सुधार नहुनु पनि एक हो । २६ वर्ष अगाडि ल्याएको मौरीको जात नै अहिलेसम्म रहेको छ त्यसले कती उत्पादन दिन्छ उहाले भन्नु भयो । सरकारी कृषि अनुसन्धान परिषदबाट नै यस विषयमा ध्यान दिन सकेमा मात्र समाधान हुन्छ ।
२० वर्षदेखि व्यवसायिक मौरी पालन गर्दै आउनु भएका भरतपुर महानगरपालिका वडा नं. ९ का विष्णु भुसालले भन्नु भयो ‘पुरानो जातको मौरी रहेसम्म उत्पादन वृद्धि हुदैन ।’ वंश सुधार नहुने हो भने मौरी पालक किसान पेसाबाट विस्थापित हुनेछ । बाहिरी देशमा लामोसमय सम्म एउटै जातको मौरी पालन हुदैन समय अनुसार वंशमा सुधार हुदै जान्छ, धेरै मह उत्पादन हुने रानी वितरण गरिन्छ नेपालमा एउटै जातको मौरीले कती समयसम्म उत्पादन दिने उहाले प्रश्न गर्नु भयो ।
किसान भुसालले भन्नु भयो ‘गत वर्ष एउटा घारबाट ३२ किलो मह उत्ािदन भएको थियो यो वर्ष ९ किलोमा सिमित भएका छौ, यस्तो गिर्दो अवस्थाबाट कसरी टिक्न सकिन्छ ।’ गत वर्ष र अहिले ६० प्रतिशत भन्दा धेरै मौरी मरेकाले किसानले उत्पादन गर्ने महमा गिरावट आउने उहाले बताउनु भयो । गएको वर्ष दुइसय ६५ घार भएको भुसालको वारीमा अहिले ९० घार मात्र रहेको छ ।


