सेनाले सन्चालन गरेको मेडिकल कलेजमा विधार्थी ठगी

काठमाडौं ४ मंसिर ।  नेपाली सेनाले सञ्चालन गर्दै आएको नेपाल आर्मी इन्स्टिच्युट अफ हेल्थ साइन्स (नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान)ले मेडिकल शिक्षा अध्ययन गरेका विद्यार्थीलाई ठगेको पाइएको छ । आर्मी मेडिकल कलेजले ‘फि स्ट्रक्चर’मा नै सरकारले तोकेभन्दा बढी शुल्क उल्लेख गरेर विद्यार्थीमाथि ‘ठगी’ गरेको पाइएको हो ।
सो कलेज राजधानीको सानो भ¥याङमा रहेको छ । त्रिभुवन विश्वविद्यालयको चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)बाट सम्बन्धन लिएर सञ्चालित सो कलेजले दुई वर्षअघि विद्यार्थीबाट अवैध रूपमा ८ लाख रुपैयाँसम्म अतिरिक्त शुल्क लिएको कागजात राजधानी दैनिकले फेला पारेको छ । अहिले पनि ती विद्यार्थीले सो कलेजमा पढिरहेका छन् । कलेजले सन् २०१६ का विद्यार्थीसँग ८ लाख रुपैयाँसम्म अतिरिक्त शुल्क लिएको विद्यार्थीले गुनासो
गरेका छन् ।

कलेजले एमबीबीएसअन्तर्गत छैटौं ब्याचबाट अतिरिक्त ६ लाख रुपैयाँ र सातौं ब्याचबाट ३ लाख रुपैयाँ अतिरिक्त लिएको पीडित विद्यार्थीले बताएका छन् । मेसमा खाना राम्रो नभएको गुनासोपछि कलेज प्रशासनले लगातार २ घण्टासम्म थर्काएको गुनासो पनि पीडित विद्यार्थीको छ ।
काठमाडौं उपत्यकाभित्र एमबीबीएस अध्ययनका लागि ३५ लाख र उपत्यकाबाहिर ३८ लाख ५० हजार रुपैयाँ मात्रै शुल्क लिन पाउनेगरी सरकारले सीमा तोकेको थियो । सोअनुसार सेनाको कलेजले प्रति विद्यार्थी ३५ लाख ५० हजार लिनुपर्नेमा ४२ लाख ८२ हजार ७ सय १० रुपैयाँसम्म लिएको थियो । आर्मी मेडिकल कलेजमा आर्थिक वर्ष २०७३÷७४ मा एमबीबीएसमा सिभिल (सर्वसाधारण)तर्फ ४९ जना, शिक्षा मन्त्रालयको कोटाबाट १२ जना र ६४ जना आर्मीतर्फको गरी १ सय १५ जनाको सिट रहेको थियो ।

कलेजले विद्यार्थीलाई अनावश्यक रूपमा तनावसमेत दिने गरेको पीडित विद्यार्थीको गुनासो छ । शुल्कको विषयमा कुरा उठाएपछि फेल गराउनेसमेत धम्की दिएको पीडित विद्यार्थीले बताए ।
यसैबीच, सरकारले बढी शुल्क लिएको भन्दै १२ वटा निजी मेडिकल कलेजलाई शुल्क फिर्ता वा समायोजन गर्न निर्देशन दिइसकेको छ । राष्ट्रिय चिकित्सा शिक्षा आयोगका प्रवक्ता हरि लम्सालले मेडिकल कलेजले लिएको अतिरिक्त शुल्क समायोजन गर्नुपर्ने बताए । उनले भने, ‘अतिरिक्त शुल्क लिएका मेडिकल कलेजले शुल्क फिर्ता गर्नुपर्छ वा समायोजन गर्नुपर्छ । विद्यार्थीबाट कुनै पनि मेडिकल कलेजले अतिरिक्त शुल्क लिन मिल्दैन ।’ सरकारले तोकेभन्दा १५ लाखसम्म बढी रकम असुलेको भन्दै विद्यार्थीले आन्दोलनसमेत चर्काएका छन् । विद्यार्थीले अवैध रूपमा उठाइएको रकम फिर्ता नभएसम्म परीक्षासमेत बहिष्कार गर्ने निर्णय गरेका छन् । शिक्षा मन्त्रालयले भने बढी शुल्क लिने कलेजलाई ठगी मुद्दा चलाउन गृह मन्त्रालयलाई निर्देशन दिइसकेको छ ।

प्रधानमन्त्री मातहत रहेको राष्ट्रिय सतर्कता केन्द्रले १२ वटा मेडिकल कलेजले एमबीबीएस र बीडीएसको पढाइका नाममा २ अर्ब ८५ करोड रुपैयाँ गैरकानुनी रूपमा अतिरिक्त शुल्क असुली गरेको ठहर गरेको थियो । छानबिन क्रममा मेडिकल कलेजले प्रतिविद्यार्थी २ लाखदेखि २५ लाख ४१ हजार रुपैयाँसम्म अतिरिक्त शुल्क उठाउने गरेको पाइएको थियो । मेडिकल कलेजले शैक्षिक वर्ष सन् २०१४ देखि २०१८ सम्ममा विभिन्न शीर्षकअन्तर्गत अतिरिक्त शुल्क असुल गरेको केन्द्रको दाबी छ ।
सरकारले शैक्षिक सत्र २०७६÷७७ का लागि एमबीबीएसतर्फ काठमाडांै उपत्यकाभित्र ४० लाख २३ हजार २ सय ५० र उपत्यकाबाहिरका लागि ४४ लाख ३६ हजार २५ एवं बीडीएसतर्फ २० लाख १९ हजार ५८० कायम गरेको छ ।
यसैबीच, सरकारले व्यवस्था गरेको मेडिकल कलेजमा ७५ प्रतिशत छात्रवृत्ति कार्यान्वयन नभएपछि सर्वोच्च अदालतमा मुद्दा दर्ता भएको छ । एमबीबीएस अध्ययनका लागि इन्ट्रान्स पास भएका विद्यार्थी मोहम्मद नसिरले मंगलबार सर्वोच्च अदालतमा मेडिकल कलेजविरुद्ध मुद्दा दर्ता गराएका हुन् । काठमाडौं विश्वविद्यालय, नेपाली सेनाद्वारा सञ्चालित नेपाली सेना स्वास्थ्य तथा विज्ञान प्रतिष्ठान, देवदह मेडिकल कलेज र विराट मेडिकल कलेजमा समेत ७५ प्रतिशत छात्रवृत्ति हुनुपर्ने भन्दै सर्वोच्चमा निवेदन दिएका हुन् ।

राजधानी दैनिक बाट

शेयर गरौ

ताजा अपडेट