दार्चुला २५ कात्तिक । नेपाली भूमि कालापानी मात्र होइन, गुन्जी र नावीढाङमा पनि भारतीय फौजका आठ क्याम्प छन् । तर, कालापानीभन्दा तल टिंकरको छ्यालेकमा नेपाल प्रहरीको सानो चौकी मात्र छ । जाडो थाम्न नसकेर त्यहाँका प्रहरी छाङरु झरिसकेका छन् । अझ जाडो बढेपछि उनीहरू ५१ किमि तल दुम्लिङ झर्नेछन् । यसरी सबैभन्दा बढी अतिक्रमण भएको ठाउँमा सरकारको उपस्थिति नै शून्य छ ।
नेपाली भूभाग कालापानीमा ५७ वर्षदेखि भारतीय सुरक्षा फौजको परेड चलिरहेको छ। सन् १९६२ मा अर्धसैनिक बलको ब्यारेक स्थापना गरेको भारतले आफ्नो फौज विस्तार गर्दै अहिले तीन स्थानमा आठ क्याम्प खडा गरेको छ ।तर, कालापानी, लिपुलेकलगायतका संवेदनशील सीमा क्षेत्र हेर्ने नेपाल प्रहरीका चौकीहरू भने ६ महिनामा विस्थापित हुन्छन्। कालापानीबाट १८ किलोमिटर दक्षिणमा रहेको व्यास गाउँपालिका–१ छाङरुस्थित सीतापुल प्रहरी चौकी केही हप्तामै विस्थापनको तयारीमा छ।
छाङरुबाट १२ किलोमिटर पूर्व ९चीन०तर्फ रहेको व्यास–१ कै टिंकरस्थित छियालेक चौकीका प्रहरी ५ कात्तिकमै सीतापुल झरिसकेका छन् । अब दुवै चौकीका प्रहरी व्यास गाउँपालिका–२ राप्लास्थित दुम्लिङ चौकी झर्दै छन्, जुन कालापानीबाट ६३ किलोमिटर दक्षिणमा छ । यो छियालेक र सीतापुलका प्रहरीलाई हिउँदका ६ महिना राख्न स्थापना गरिएको अस्थायी चौकी हो। दुम्लिङमा प्रहरी नायब निरीक्षक ९सइ०को कमान्डमा १३ प्रहरी कार्यरत छन्।
यो वर्ष हिउँ पर्न थालेपछि टिंकरमा कार्यरत प्रहरी सीतापुल झरेको बझाङका निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक सुरेन्द्र जोशीले बताए। थप जाडो हुँदै गएपछि त्यहाँबाट पनि तल दुम्लिङमा झर्ने उनले बताए। यद्यपि, सीमाविवाद आएपछि सो क्षेत्रमा मनिटरिङ निर्देशन दिइएको उनको भनाइ छ। यीबाहेक कालापानीबाट निकै टाढा दक्षिणतर्फ हिकिला, धौलाकोट, सुन्सेला, हुती र ब्रह्मदेव चौकी छन्।
खलंगामा नेपाली सेना र सशस्त्र प्रहरीको एक–एक गुल्म छन्। तर, सदरमुकामबाट टिंकरसम्म सडक अवरुद्ध हुँदा यो वर्ष गस्ती नै निस्किएको छैन। भारतले महाकाली नदीकिनारमा सडक बनाउँदा नेपालतिर दुम्लिङदेखि छाङ्ग्रुसम्मको करिब ६० किलोमिटर बाटो पूर्ण रूपमा अवरुद्ध छ। यहाँका नागरिक भारतीय बाटोबाट आवतजावत गर्न बाध्य छन्।
भारतीय सुरक्षा फौज भने कालापानीबाट पनि अघि बढेर टाटा क्षेत्रसम्म गस्तीमा आइरहन्छन्। सीमा क्षेत्रको भारतीय बजार धार्चुलाबाट नेपालको कालापानी क्षेत्रसम्म भारतले भने १५ स्थानमा २८ क्याम्प बनाएर सुरक्षा फौज तैनाथ गरेको छ। २० क्याम्प भारततर्फ छन् भने आठ क्याम्प नेपाली भूमी गुँजी, कालापानी र नाभिढाङ अतिक्रमण गरेर राखेको छ।
भारतको व्यापार प्रतिनिधिसमेत बस्ने गुँजी क्षेत्रमा एसएसबी, कुमाउँ स्काउटको भारतीय सेना र सिख बटालियन तैनाथ छन्। कालापानीमा आइटिबिपी ९इन्डियन तिबेतियन बोर्डर पुलिस०, एसएसबी र भारतीय सेनाका दुई गुल्म छन्। कालापानीबाट लिम्पियाधुरातर्फ नाबिढाङमा आइटिबिपी र भारतीय सेनाको एक गुल्म तैनाथ छन्।
गुँजी, कुटी र नाबी गाउँ ०१८ सम्म नेपालले जनगणना गरेको क्षेत्र हो । ती नेपाली नागरिकका बस्ती थिए। बस्ती त अहिले पनि छन्, तर नागरिक सबै भारतीय बनाइएका छन्। नेपालमा मालपोत तिरेका ती गाउँ अहिले भारतीय कब्जामा छन्। विभिन्न सुविधाको ललिपप चखाउँदै नेपालीलाई भारतीय नागरिकता दिलाइएको छ । अहिले पनि उनीहरूलाई रासनदेखि ग्यास, यातायातलगायतमा सुलभ सुविधा छ । धार्चुलासम्म आउजाउ गर्न हेलिकोप्टरको सुविधा दिएको छ।
धार्चुलातर्फबाट कालापानी क्षेत्रको प्रवेशद्वार छियालेक भारततर्फ मा हेलिप्याडसहितको कुमाउ स्काउटको भारतीय सैनिकको गुल्म र एसएसबीको क्याम्प छ। छियालेकबाट तीन किलोमिटर उत्तरतिर पर्ने गब्र्याङमा आइटिबिपी र एसएसबीको क्याम्प छ। छियालेकबाट उत्तरतिर कालापानीसम्म भारतीय सैनिकले नियमित गस्ती गर्छन्। पछिल्लोपटक ५ कात्तिकमा भारतीय सेनाका लेफ्टिनेन्ट जनरल आइएस घुमानले यो क्षेत्र भ्रमण गरेका थिए। नेपालतिरबाट पाकिस्तानी आतंककारीहरूको घुसपैठ हुन सक्ने भन्दै एक महिनादेखि सीमाक्षेत्रमा क्षेत्रमा भारतीय सैनिकहरूको संख्या बढाइएको छ। भारतीय सैनिक क्याम्पमा सामान बोक्ने भरियाहरू छियालेकमा सैनिक संख्या थपिएको बताउँछन्।
नयाँ पत्रिकारबाट


