रत्ननगर १९ माघ ।
प्रदेश सभा सांसद कृष्णप्रसाद खनालले सामुदायिक वनलाई जनताको आयआर्जनसंग जोड्नु पर्ने बताएका छन ।
रत्ननगर ११ मा रहेको पञ्चकन्या सामुदायिक वनको १५ औं बार्षिक साधारण सभामा वोल्दै उनले जनताको आयआर्जन संग जोडन नसके वनको अस्थित्व नरहने बताए । दाउराको लागि मात्र अब सामुदायिक वनहरु प्रयोग हुनुहुदैन उनले भने वनलाई मान्छेको जीवनसंग जोड्नु पर्छ । उनले पाउरा र घाँसमा मात्र वनलाई सिमित राख्न नहुने बताए ।
नेपालका सामुदायिक वनहरु समृद्धिको आधार रहेको भन्दै उनले यसको प्रयोगलाई सही ठाउँमा गर्न सक्नु पर्ने बताए । उनले रत्ननगर भित्रका सबै सामुदायिक वनहरुलाई सौराहाको पर्यटनसंग जोडेर विकास गर्नुपर्ने बताए । यहाँका बाघमारा,चित्रसेन र कुमरोज वनका उपभोक्ताले वनमा गएर दाउरा काट्दैनन उनले भने पर्यापर्यटनको विकास गरेर सामुदायिक वनले आर्जन गरेको पैसाले विकास गरेका छन । उनले जनकौली,मिलिजुली,टिकौली र पञ्चकन्या सामुदायिक वनलाई पनि पर्यटकीय स्थलको रुपमा विकास गरेर पर्यटक भित्र्याउनु पर्ने बताए । उनले त्यसका लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्ने बताए ।
सोही कार्यक्रममा वोल्दै रत्ननगर नगरपालिकाका मेयर नारायण वनले रत्ननगर नगरपालिकाले समृद्धिको बाटो तय गरिसकेको बताएका छन । उनले विकासको गतिमा नगरपालिका अगाडि बढिरहेको भन्दै संमृद्धिको बाटो तय भइसकेको स्पष्ट पारे । उनले नगरको समृद्धिका लागि गर्नुपर्ने सबै किसिमका कामको सुरुवात भइसकेको बताए । उनले सुसासन र पारदर्शी प्रशासन सहित जनताको आधारभूत आवश्यकताका विषयमा नगरपालिकाले गम्भीर भएर कार्य गरिरहेको बताए । नगरको शिक्षाको विकासका लागि चार वटा सामुदायिक विद्यालय प्राविधिक शिक्षाको सुरुवात,स्वास्थ्यको विकासको लागि बृद्धाबृद्धाको घरघरमै उपचार,रत्ननगर अस्पतालको स्तरबृद्धि,पर्यटनको विकासको लागि सौराहामा बसपार्क,सुचना केन्द्र,सिटिहल,वाटर किङमडम,कृषिको विकासका लागि अनुदान र सिंचाईको प्रबन्ध,पशुपालनको विकासका लागि सुत्केरी पशुलाई भत्ता,गोठ सुधार कार्यक्रम र अनुदानको व्यवस्था गरिएको मेयर वनले बताए । ठुला योजनाहरु प्रदेश र केन्द्र सरकारको लगानीमा निर्माण हुने भन्दै उनले स्थानीय सरकारले गर्न सक्ने कामहरु सुरु गरिएको बताए । हामी नगरवासीलाई विकासको प्रत्याभूति दिलाउन चाहन्छौं मेयर वनले यसका लागि क्रमिक रुपमा काम भइरहेको छ ।