सुनचाँदी व्यवसायीलाई शान्ति सुरक्षाको प्रत्याभूति दिलाउने : विश्वकर्मा

 

अमिर रामदाम,
चितवन, १० असोज । माडी नगरपालिका भित्र रहेका सबै सुनचाँदी व्यवसायीलाई ढुक्क भएर व्यवसाय गर्न ईलाका प्रहरी कार्यालय माडीका प्रमुख हर्क बहादुर विश्वकर्माले बताएका छन् ।

नेपाल सुनचाँदी व्यवसायी संघ चितवन माडी शाखाको सचिवालयमा आयोजना गरिएको स्वागत तथा सम्मान एवं व्यावसायिक सुरक्षाको विषयमा भएको अन्तरक्रिया कार्यक्रममा प्रहरी प्रमुख विश्वकर्माले सो कुरा बताएका हुन् ।
उनले सबै सुनचाँदी व्यवसायीलाई शान्ति सुरक्षाको प्रत्याभूति दिलाउने प्रतिबद्धता जनाएका छन् । सम्पूर्ण सुनचाँदी व्यवसायीलाई आफ्नो सुरक्षाको लागि पसल पसलमा सिसि क्यामेरा जडान गर्न उनले अनुरोध गरेका छन् ।
हाम्रो समुदायले विशेष गरी शिक्षामा ध्यान पुर्याउनु पर्ने र जाँड रक्सी खान छोड्नुपर्ने प्रहरी प्रमुख विश्वकर्माले जोड दिएका छन् । त्यस्तै सबै व्यवसायीलाई आपसी सहयोग र सद्भाव प्रकट गर्दै समुदाय र प्रहरी बीच अपनत्व हुन जरूरी रहेको प्रहरी प्रमुख विश्वकर्माले बताएका छन् ।
कार्यक्रममा नेपाल सुनचाँदी व्यवसायी संघ चितवन माडी शाखाका संस्थापक अध्यक्ष एवं वर्तमान वरिष्ठ सल्लाहकार कमल रामदामले ईलाका प्रहरी कार्यालय माडीमा प्रमुखको रूपमा हाम्रो समुदायबाट प्रहरी निरीक्षक हर्क बहादुर विश्वकर्मा आउनु भएकोमा खुशी व्यक्त गरेका छन् । संस्थापक अध्यक्ष रामदामले व्यवसायीलाई सुरक्षाको प्रत्याभूति दिलाउन प्रहरी अग्रसर हुन पर्ने बताएका छन् ।
पछिल्ला दिनहरुमा प्रहरीको सक्रियता र काम कारवाहीको प्रशंसा गर्दै शाखाले प्रहरी निरीक्षक विश्वकर्मालाई स्वागत एवं सम्मान गरेको शाखाका अध्यक्ष कृष्ण गोतामेले जानकारी दिएका छन् । हालै माडी प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्नुभएका विश्वकर्माले समुदाय र प्रहरी बीचको निकटतालाई उच्च तहमा लैजानुभएकोले उहाँलाई सम्मान गरिएको अध्यक्ष गोतामेको भनाई छ ।
कार्यक्रममा प्रहरी प्रमुख विश्वकर्मालाई खादा माला र मायाको चिनो प्रदान गरिएको थियो ।
कार्यक्रममा माडी शाखाको कोषाध्यक्ष ईश्वरी विश्वकर्मा, सुनचाँदी व्यवसायी महिला माडीकी अध्यक्ष बिमला गहतराज लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा माडी नगरपालिकाभरीका सुनचाँदी व्यवसायीहरूको सहभागिता रहेको थियो ।

ताजा अपडेट