चितवन समाचारडटकम
रत्ननगर १८ माघ ।
नेकपाका स्थायी कमिटी सदस्य तथा पूर्व अर्थ मन्त्री सुरेन्द्र पाण्डेले पूर्वी चितवनको चारवटा स्थानीय तहले एकीकृत योजना मार्फत काम गरेमा छिटो विकासको प्रगती देख्न सकिने बताउनु भएको छ ।
रोटरी क्लब अफ रत्ननगरले टाडीमा आज आयोजना गरेको पूर्वी चितवनको अवसर र चुनौति विषय कार्यक्रममा सम्बोधन गर्दै उहाले विकासका योजनामा एक भएर लाग्न सकेमा उपलब्धी छिटो देखिने बताउनु भयो । ‘चारवटा नगरपालिकाको विकासको लागि २ अर्बको बजेट आउने तयारी रहेको छ जुन यहाँहरुको योजना अनुसार भएको हो’ उहाले भन्नु भयो ‘यहाँका स्थानीय तहका प्रमुखहरुले यस क्षेत्रमा कुन विषय प्रमुख आवश्यकता हो त्यसैलाई एक मत दिएर अगाडि गर्नु पर्दछ ।’
पर्यटकीय गन्तव्य र पोल्ट्रीको लागि चितवनले धेरै प्रगती गरेकाले यसका पूर्वाधार संगै लगानीको आवश्यकता जरुरी रहेको बताउनु भयो । सरकार र निजी क्षेत्र दुवैको संयुक्त लगानी गरेर मात्र छिटो समृद्धि तर्फ जान सकिन्छ उहाले भन्नु भयो सरकारले ल्याएका योजनालाई निजि क्षेत्रले पनि साथ दिएर जानु पर्दछ ।
युवा जोश जागर भएका व्यक्तिहरुको सस्था रोटरी क्लब भएको भन्दै विकासका काममा साथ र सहयोगको अवाश्यकता रहेको बताउनु भयो । उहाले भन्नु भयो ‘शक्तिखोरदेखि सौराहासम्मको कयर खोलाको दुवै तर्फ ड्याम निर्माण गराएर बोटिङको व्यवस्था गर्नेगरी काम गर्नको लागि स्थानीय तहका प्रतिनिधिहरुलाई सुझाब दिनु भयो ।
‘विकास कसैले गरिदिएर हुदैन, नयाँ योजना ल्याउन सक्नु पर्दछ, अरुले होइन आफैले गर्नु पर्छ ’ पाण्डेले भन्नु भयो ‘जग्गा विकास योजना ल्याउने र नदीको पूर्व र पश्चिम तर्फ ड्याम कसेर पर्यटकीय नयाँ गन्तव्य निर्माण गर्नु पर्दछ ।’ आफ्नै कार्यकालमा नयाँ योजनाको सुरुवात गरेर विकासको अनुभुती गराउनु पर्नेमा जोड दिनु भयो ।
कार्यक्रममा उहाले लोथर सौराहा निकुञ्जको नजिक कंक्रिटको वाल, बकुल्हर फिसलिङ सडक, भण्डारा मलेखु सडक, पूर्वी चितवनमा सुविधा सम्पन्न अस्पताल, रंगशाला निर्माण, शक्तिखोरमा औद्योगिक क्षेत्र निर्माण, रामपुर क्याम्पस खैरहनीमा , भण्डारा हर्दिमा विद्युतको सव स्टेशन, डेरी उद्योग स्थापनाको तयारी यी सबै योजना पूरा हुदा पूर्वी चितवन विकासमा धेरै अगाडि जाने बताउनु भयो ।
उहाले सौराहालाई चौविसै घण्टा सञ्चालन गरेर पर्यटक धेरै भित्राउन सकिने अर्को सम्भावना रहेको बताउनु भयो । यस विषयमा सवै भन्दा पहिला यहीका जनप्रतिनिधि र पर्यटन व्यवसायीहरु तयार हुनु पर्नेमा जोड दिनु भयो ।
कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष स्वर्णीम वाग्ले, प्रदेश साँसद कृष्ण खनाल, रत्ननगर नगरपालिकाका प्रमुख नारायण वन, भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर कृष्ण पौडेल, रोटरीका डिष्ट्रिक गभर्नर राजीव पोखरेललगायतको उपस्थिति रहेको थियो । कार्यक्रम जनक पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।


