बन्ने भयो देवघाटमा विद्युतीय शवदाह गृह , एघार करोडको लगानी

चितवन समाचारडटकम, १७ माघ ।

पवित्र तीर्थस्थल देवघाटधाममा ११ करोड २१ लाखको लागतमा विद्युतीय शवदाह भवनको निर्माण हुने भएको छ ।

नेपाल सरकार शहरी विकास मन्त्रालयको लगानीमा दुई वर्ष भित्र निर्माण सम्पन्न गर्ने गरी बनाउन लागिएको शवदाह भवनको आज पूर्वप्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शिलान्यास गर्नुभएको छ ।

१६ करोड ९५ लाख ६४ हजार ४१ रुपैँया लागत अनुमान गरिएपनि निर्माण कम्पनिले ११ करोड २१ लाख आठ हजार ६ सय ४१ रुपैयाँमा विद्युतीय शवदाह भवन तथा मलामी प्रतिक्षालय निर्माण गर्ने सम्झौता गरेको छ ।

निर्माणको जिम्मा श्री मिलिनियम, सिद्धगढी जेभी कोटेश्वर काठमाण्डौले पाएको हो । कम्पनि र नेपाल सरकार सघन शहरी तथा भवन निर्माण आयोजना बिच गत माघ ३ गते सम्झौता भएको थियो ।

सम्झौता अनुसार २०७७ माघ २ गते भित्र निर्माण सम्पन्न गरिसक्नुपर्ने छ । शवदाह भवनको निर्माण योजनाको पहलकदमी भरतपुर महानगर पालिकाले गरेको हो ।

महानगरको वडा नम्वर १ मा पर्ने देवघाटमा निर्माण हुने यस शवदाह गृह र मलामी प्रतिक्षालय बनेसंगैं शवदाह गर्न ब्यवस्थित हुने , वातावरण प्रदुषणमा कमी आउने, तीर्थस्थल थप ब्यवस्थित बन्ने भरतपुर महानगरपालिकाको विश्वास छ । यस प्रकारका ठुला योजना निर्माणले देवघाटधाम थप ब्यवस्थित हुने देवघाट क्षेत्रविकास समितिका सदस्य नवराज ढकालले बताउनुभयो ।

शेयर गरौ

ताजा अपडेट