सरोज खनाल, माडी ३१ जेठ ।
नेपाल सरकारका पूर्व शिक्षामन्त्री एवं पूर्व सभासद् धनिराम (डि.आर.) पौडेलको दुखद निधनले माडी शोकमा डुबेको छ । उहाँको आज बिहान करीब ७ बजे हृदयघातका कारण निधन भएको हो ।
पौडेल माडीको बामपन्थी आन्दोलनको एक धरोहर तथा यहाँको शैक्षिक र सामाजिक विकासका प्रेरणादायी तथा अग्रणी नेतृत्वकर्ताका रुपमा परिचित रहनुभएको थियो । पौडेलकै पहलकदमीमा माडीमा बहुप्राविधिक शिक्षालय स्थापना भएको थियो । बुबा हरिप्रसाद पौडेल र आमा हिमादेवी पौडेलको कोखबाट बि.सं.२०२२ कार्तिक ४ गते तात्कालीन दरौ गा.वि.स., कुन्चेवारी, स्याङ्जामा जन्मिनुभएका पौडेल २०३७ सालदेखि वामपन्थी विद्यार्थी आन्दोलन हुँदै कम्युनिष्ट पार्टीमा सक्रिय रहनुभएको थियो ।
मोहनबिक्रम सिंह र निर्मल लामाहरुले नेतृत्व गरेको नेकपा (चौथो महाधिवेशन) को बिद्यार्थी संगठनको कार्यकर्ता हुँदै राजनीति सुरु गर्नुभएका उहाँ २०३९मा विद्यार्थी संगठनको चितवन जिल्ला सदस्य, २०४१ मा केन्द्रीय सदस्य हुँदै २०५१ मा तात्कालिन नेकपा (एकताकेन्द्र) विभाजन पछि अनेरास्ववियु (क्रान्तिकारी)को केन्द्रीय संयोजक समेत चुनिनुभएको थियो ।
२०४२ सालमा नेकपा (चौम) को सदस्यता लिनुभएका उहाँ २०४४ सालमा पार्टीको चितवन जिल्ला सदस्य हुनुभएको थियो । २०४७ सालमा माडीको सितलपुरमा भएको एकता महाधिवेशनका प्रतिनिधि समेत रहनुभएका उहाँ अखिल नेपाल जनवादी युवा लिगका संस्थापक केन्द्रीय सदस्य समेत हुनुहुन्थ्यो ।
२०५१ को पार्टी विभाजन पछि निर्मल लामा र नारायणकाजी श्रेष्ठलाई साथ दिनुभएका उहाँ, त्यस यता लगातार पार्टीको केन्द्रीय समितिमा रहँदै आउनु भएको थियो । बिगतमा लामो समय उहाँले पार्टीको बैचारिक मुखपत्र जनएकता साप्ताहिकको सम्पादक भई पत्रकारिता समेत गर्नुभएको थियो ।

नेता पौडेल प्रति शोक व्यक्त गर्दै आज माडीका विद्यालयहरु आज एकदिन बन्द गरिएको छ । यसैक्रममा माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकालले माडीको बामपन्थी आन्दोलनको एक धरोहर तथा शैक्षिक एवम सामाजिक रुपान्तरणका लागी एक नेतृत्व गुमाएको भन्दै दुख व्यक्त गर्नुभएको छ ।


