चितवन समाचार डटकम , ३० जेठ :
प्रतिनिधि सभा अन्तर्गतको कानुन,न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोखरेलले गुठी विधेयकका बारेमा गलत सन्देश फैलाईएको भन्दै कडा आपत्ति जनाउनु भएको छ ।
प्रतिनिधि सभाको आजको बैठकमा विशेष समय लिएर बोल्दै सांसद पोखरेलले गुठी विधेयक कम्युनिष्टले धर्म मान्दैनन् भन्दै ग्लोवेल शैलीबाट प्रचार गर्न खोजिएको बताउनुभयो । “ विगत केही दिनदेखि गोयवल्स शैलीबाट जे तथ्य हो त्यसतर्फ इंगित नै नगरी गुठी विधेयकका बारेमा जुन चर्चा गरेर सिङ्गो राष्ट्रमा गलत सन्देश दिने काम भएको छ, त्यसतर्फ संसदको ध्यानाकर्षण गर्न चाहन्छु । ” उहाँले भन्नु भयो, “गुठी सम्बन्धी विधेयक अहिले राष्ट्रिय सभामा दर्ता भई छलफलका क्रममा रहेका बेला प्रतिनिधि सभामा यसको चर्चा गरिनु असान्दर्भिक हो ।” सभापति पोखरेलले गुठी सम्बन्धी विधेयकका बारेमा प्रतिनिधि सभाका यो ढंगबाट छलफल गर्ने र गलत सन्देश दिने कुरा पार्लियामेन्ट्री सिस्टमभित्र हामीले अबलम्बन गरेको डेमोक्रेसी भित्र पर्छ भन्दै प्रश्न समेत गर्नुभयो ।
नेपालको संविधानले नै गुठी सम्बन्धी व्यवस्था संघीय कानुन बमोजिम हुनेछ भनिएकाले पनि अहिले ल्याएको विधेयक संविधान अनुरुप भएको सांसद पोखरेलको भनाई रहेको छ ।
सभापति पोखरेलले अहिले आएको विधेयकको धारा २६ मा भाषा, धर्म सँस्कृतिको रक्षा, धार्मिक स्थलमा सम्पन्न हुने कार्यको लागि ल्याएको बताउँदै धार्मिक स्थल व्यवस्थापन समिति बनाइने छ भनेर दफा २८ मा व्यवस्था गरिएको बताउनुभयो । “विधेयक भित्र रहेका विषयको छलफल नै नगरि धर्म सँस्कृतिको विरुद्धमा छ भनेर भन्नु गलत हो ।” उहाँले भन्नुभयो,“ सामाजिक न्यायको विरुद्धमा गुठी सम्बन्धी विधेयक आएको हो भने आफूहरुलाई स्वीकार्य हुन्न ।” कम्युनिष्टहरु धर्म मान्दैनन् भनेर गलत प्रचार गरिनुले संसदको गरिमा बढ्ने नभई घट्ने काम हुने उहाँले बताउनुभयो ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धर्म संस्कृति मान्दैन भन्ने गोयवल्स शैलीबाट प्रचार नर्गन नेता कृष्णभक्त पोखरेलले आग्रह गर्नुभएको छ ।


