काठमाडौं, २९ जेठ :
आज (बुधबार) बिहान देशभरको मौसम सफा रहेको छ । दिउँसोबाट भने मौसममा सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज देशका पश्चिमी भूभागहरुमा सामान्यदेखि पूर्ण बदली रहने र पश्चिमकै केही भागमा हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको छ । त्यस्तै आज राति पनि पूर्वी र पश्चिमी भागमा मेघ गर्जनसहितको पानी पर्ने सम्भावना रहेको छ ।
पश्चिमबाट प्रवेश गरेको मौसमी प्रणालीको असरले बुधबार बिहान दार्चुला, डडेलधुरा, कञ्चनपुर, धनगढी, दिपायल लगायत सुदुरपश्चिमका धेरै ठाउँमा मेघगर्जन र हुरीबतास सहित पानी परेकोे मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले पश्चिममा पानी पारेको प्रणाली मध्य क्षेत्र हुँदै पूर्व सर्नेछ ।
तर मध्य क्षेत्रमा आइपुग्दा नै कमजोर हुने भएकाले काठमाण्डौ उपत्यकासहित मध्य र पूर्वका एक दुई ठाउँमा मात्र बेलुकीतिर पानी पर्ने सम्भावना रहेको उहाँको भनाइ छ । पश्चिमको मौसम पनि बिस्तारै खुल्ने मौसमविद् पौडेलले बनाउनुभयो । अझै पनि नेपालमा मनसुन प्रवेश नगरेकाले कुनै ठाउँमा पानी परे पनि नजिकै अर्को ठाउँमा पानी नपर्ने उहाँले जानकारी दिनुभएको छ । सामान्यतया जुन १० मा नेपालमा मनसुन भित्रनुपर्ने भए पनि यसवर्ष अझै केही दिन ढिलो हुने मौसमविद्ले बताएका छन् ।


