काठमाण्डौ २१ जेठ । चितवन क्षेत्र नं. २ का सांसद कृष्णभक्त पोखरेलले चितवनका ठुला योजनाहरु बजेटमा नपरेको भन्दै अर्थ मन्त्रालयलाई ध्यानाकर्षण गराउनु भएको छ ।
आर्थिक वर्ष २०७६÷७७ को बजेटको विषयमा संसदमा भएको कार्यक्रममा बोल्दै उहाले ठुला योजनाका लागि बजेट नछुट्याएको भन्दै ध्यानाकर्षण गराउनु भएको हो । न्याय तथा कानुन मानवअधिकार समितिका सभापति समेत रहनु भएका उहाले भन्नु भयो ‘वीरगञ्ज, विराटनगर, वुटवल लगायतका शहर मेगा सिटी बनाउने सूचिमा पर्दा भरतपुर किन परेन ? ’ देशकै मध्य भागमा पर्ने भरतपुर महानगरपालिकालाई मेगा सिटीका रुपमा विकास गरिनु पर्ने भन्दै माग गर्नु भयो ।
भरतपुरमा निर्माण हुन लागेको गौतमवुद्ध अन्तरराष्ट्रिय क्रिकेट रंगशालाको लागि अहिलेको बजेटले सम्वोधन नगरकोमा ध्यानाकर्षण गराउनु भयो । त्यस्तै गरी भरतपुर महानगरपालिकालाई रिंङरोड निर्माण गर्न उपयुक्त भएको भन्दै यसको लागि बजेटमा सम्वोधन हुनु पर्नेमा जोड दिनु भयो ।
अहिले सरकारले ल्याएको बजेट कार्यान्वयन भएमा ठुलो परिविर्तन हुने भन्दै स्वागत गर्नु भयो । विपक्षी दलले बजेटले कनिका छरेजस्तो भनेर अभिव्यक्ति दिनु उपयुक्त नभएको बताउनु भयो । हरेक नेपालीको घरघरमा पुग्ने गरी कार्यक्रम निर्माण भएको भन्दै स्वागत गर्नु भयो ।


