काठमाडौं, २१ जेठ :
देशभरको पहाडी क्षेत्रमा केही दिनदेखि नियमितजसो वर्षा भैरहेको छ ।
बिहान आकाशमा डम्म बादल लाग्ने, बेला बेलामा घाम लाग्ने र दिउँसोपछि अपरान्हतिर असिनासहित पानी आउने गर्छ । कहिलेकाहीँ एकै ठाउँमा एकदमै ठूलो पानी पर्छ । अहिले प्रिमनसुन (मनसुन सुरु हुनुभन्दा पहिले) को समय भएकाले यस्तो मौसमी गतिविधि भैरहेको हो । प्रिमनसुनी समयमा यस्तो गतिविधि सामान्य मानिन्छ ।
नेपालमा समान्यतया जुन १० तारिखदेखि मनसुन सुरु हुन्छ । यो वर्ष केही ढिलो गरी मनसुन सुरु हुने देखिएको छ । प्रत्येक वर्ष हिन्द महासागरलगायत ठाउँमा उत्पत्ती हुने मनसुनी वायु केरला हुँदै उत्तरपूर्वतिर बढ्दै भारतका विभिन्न स्थान तथा बंगलादेशतिर प्रवेश गर्छ ।
त्यहाँबाट मनसुनी वायुको दिशा परिवर्तन भई दक्षिणपूर्वी दिशाबाट नेपालमा मनसुन प्रवेश गर्छ । अहिलेसम्म मनसुन भारतको केरला आसपासमा आइपुग्नुपर्ने हो, तर भारतको केरला आसापास अहिले कुनै मनसुनी गतिविधि देखिएको छैन । तसर्थ नेपालमा जुन १० तारिख भन्दा केही ढिलो गरी मनसुन भित्रिन सक्छ ।
दक्षिण एसियाली जलवायु दृष्टिकोण मञ्चले गरेको अध्ययनले यो वर्षको मनसुनमा प्रदेश १, २ र ३ का धेरै ठाउँ तथा प्रदेश ५ को पश्चिमी क्षेत्रमा औसतभन्दा कम पानी पर्ने र अरु ठाउँमा औसत पर्ने आँकलन गरेको छ । केही वर्षयतादेखि मनसुनका समयमा असामान्य झरीहरु पनि पर्दै आइरहेको छ ।
अतिवृष्टि, अनावृष्टि, खण्डवृष्टिलगायत वर्षाबाट पैदा हुने जोखिम पनि उत्तिकै हुन्छ । ठूलो पानी जुनसुकै बेलामा पनि पर्न सक्छ । यो वर्ष प्रिमनसुनका समयमा पनि केही मात्रामा बढी पानी परेको देखिएको छ ।


