काठमाडौं, २१ जेठ :
रसुवास्थित त्रिशूली नदीमा टाटा सुमो खस्दा तीन जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन् ।
पोखराबाट रसुवाको गोल्जुङ जाँदै गरेको बा १० च ५८२० नम्बरको टाटा सुमो सोमबार साँझ मैलुङ–स्याफ्रु सडक खण्ड अन्तर्गत गुम्चेतमा दुर्घटना भएको प्रहरीले जनाएको छ । ११ जना सवार टाटासुमो सडकबाट त्रिशूली नदीमा खसेकाे हाे । दुर्घटनामा आमाछोदिङ्मो गाउँपालिका–४ गोल्जुङका ३२ वर्षीय नोर्बु तामाङ, ३२ वर्षकै साहिली घले र ३५ वर्षीय मेन्दु घलेको मृत्यु भएको छ ।
दुर्घटनामा परेर ४८ वर्षीय पासाङदे घले, १९ वर्षकी महिला कामी याङ्जेन तामाङ र २० वर्षकी ल्तेतङ घले बेपत्ता भएका छन् । उनीहरुको खोजी भइरहेको प्रहरी नायब उपरीक्षक भाग्येन्द्र पुरुष ढकालले जानकारी दिए । दुर्घटनामा टाटासुमो चालक ३२ वर्षीय निमा तामाङ, ३५ वर्षकी जौरानी घले, ५ वर्षीय फुर्बु याङजेन तामाङ, २९ वर्षीय योङ जुङ तामाङ र ३ वर्षीय निम छेवाङ तामाङ घाइते भएका छन् ।
घाइतेलाई त्रिशूली अस्पताल उपचारपछि थप उपचारका लागि काठमाडौँ रिफर गरिएको प्रहरीले जनाएको छ । टाटासुमो सडकबाट करीब एक सय मिटर तल त्रिशुली नदीमा खसेको जिल्ला प्रहरी प्रवक्ता ईश्वरी भण्डारीले नेपालखबरलाई जानकारी दिए ।
जिप नदीमा डुबेकाले वेपत्ता भएका तीनजनालाई त्रिशुलीले बगाएको आशंका गरिएको छ । घाइते र मृतकको नेपाल प्रहरी र सशस्त्र प्रहरी टोलीले उद्धार गरेको छ। चालकको लापरबाहीले दुर्घटन भएको प्रहरीले जनाएको छ ।


