मुलुक न्याय र समानतासहितको समृद्धिको दिशामा : प्रधानमन्त्री ओली

काठमाडौं, २१ जेठ  :

प्रधानमन्त्री केपी शर्मा ओलीले आफु नेतृत्वको सरकारले न्याय र समानतासहितको समृद्धिको दिशामा मुलुकलाई अघि बढाएको बताउनुभएको छ ।

जातीय भेदभाव तथा छुवाछूत उन्मुलन दिवसको शुभकामना दिंदै प्रधानमन्त्री ओलीले वर्तमान परिवेशमा विभेद र अन्यायको अवस्था स्विकार्य नहुने उल्लेख गर्नुभयो । सुखी नेपाली, समृद्ध नेपालको राष्ट्रिय आकांक्षा पूरा गर्न यस्ता सबै कुरितीको अन्त्यका लागि सरकार कटिबद्ध रहेको उहाँको शुभकामना सन्देशमा उल्लेख छ ।

राज्यका हरेक क्षेत्रमा समानता प्रदान गर्न आफुहरु लागि परेको भन्दै उहाँले दलित समूदायलाई शिक्षा, स्वास्थ्य र रोजगारको क्षेत्रमा अगाडि बढाउन तल्लिन रहेको उल्लेख गर्नुभएको छ । शुभकामना सन्देशमा भनिएको छ– विगतमा पाखा पारिएकाहरुलाई राज्यको मूलप्रवाहमा समाहित गराउदैछौ । २१ औ शताब्दीमा पनि सामन्तवादको अवशेषका रुपमा रहेको मानव–मानवका बीच गरिने जातीय भेदभाव र छुवाछूतको दुव्र्यवहारप्रति कुनै सहिष्णुता दर्शाइने छैन ।

समानता, सद्भाव र सबैको मानव अधिकारको पूर्ण रक्षाका लागि सरकार दृढ रहेको शुभकामना सन्देशमा उल्लेख छ । यसैबीच आज जातीय विभेद उन्मुलन दिवस विभिन्न चेतनामुलक कार्यक्रम गरी मनाइदैछ । २०६३ साल जेठ १८ गते बसेको मन्त्रिपरिषद्को निर्णय अनुसार हरेक बर्ष जेठ २१ गतेलाई जातीय विभेद तथा छुवाछुत उन्मुलन दिवस मनाउन थालिएको हो ।

नेपालको जनसङ्ंख्याको एक चौथाई हिस्सा ओगटेका नेपाली दलित समुदाय बिगत लामो समयदेखि भेदभावको शिकार बन्दै आएका थिए । यो अवस्था अहिले पनि पुर्ण रुपमा अन्त्य भने हुन सकेको छैन ।

व्यवस्थापिका संसदले ०६८ जेठ १० गतेका दिन जातीय भेदभाव तथा छुवाछूतको कसुर र सजायको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक ०६८ पारित गरेको र राष्ट्रिय दलित अधिकार आयोगको व्यवस्था गर्न बनेको विधेयक पारित गरिसकेको छ । जुन आन्दोलनपछिको पुर्नस्थापित संसदले २०६३ साल जेठ २१ गते नेपाललाई छुवाछुत मुक्त राष्ट्रको रुपमा घोषणा गरिसकेको छ ।

शेयर गरौ

ताजा अपडेट