समृद्ध नेपाल निर्माणमा खेलकूदको महत्वपूर्ण भूमिका हुने नेकपा अध्यक्ष प्रचण्डको भनाई

काठमाडौं, १४ जेठ :

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘समृद्ध नेपाल सुखी नेपाली’को लक्ष्य पूरा गर्न खेलकूद क्षेत्रले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभएको छ ।

नेपाल वादोरियो कराते सङ्घले आयोजना गरेको चौथो अन्तर्राष्ट्रिय वादोरियो कराँते प्रतियोगिताको शुभारम्भ गर्दैै उहाँले खेलकूद क्षेत्रले मुलुकमा समृद्धि ल्याउने बताउनुभयो । पूर्वप्रधानमन्त्री दाहालले आफू गणतन्त्र नेपालको प्रथम प्रधानमन्त्री भएपछि खेलकूद क्षेत्रलाई महत्वपूर्ण ध्यान दिएर अगाडि बढाएको उल्लेख गर्नुभयो । युवा जनशक्तिमा सभ्यता र अनुशासन सिकाउन खेलकूदले सहयोग पुग्ने उहाँको भनाइ छ ।

अध्यक्ष दाहालले खेलकूद क्षेत्रले राष्ट्रिय एकतामा सहयोग पुगेको स्पष्ट पार्नुभयो । सो अवसरमा युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले खेलाडीको मनोबल उच्च राख्न सरकारले महत्वपूर्ण योजना अगाडि ल्याएको बताउनुभयो ।

सरकार खेल र खेलाडीलाई प्रोत्साहन गर्न लागिरहेको उहाँको भनाइ थियो । राष्ट्रिय खेलकूद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले परिषद्ले नेपाली खेललाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिनुभयो ।

शेयर गरौ

ताजा अपडेट