पाँचथर घटनाको सुक्ष्म छानबिन भइरहेको गृहमन्त्री थापाको भनाई

काठमाण्डौं, ८ जेठ :

गृहमन्त्री रामबहादुर थापाले पाँचथरमा भएको सामूहिक हत्याकाण्डको सुक्ष्म रुपमा छानबिन भइरहेको र सत्यतथ्य पत्ता लगाई दोषीमाथि कारवाही हुने बताउनुभएको छ ।

राष्ट्रियसभाको आजको बैठकमा यही जेठ ६ गते पाँचथरको आरुबोटमा भएको सामूहिक हत्याकाण्डको विषयमा जानकारी दिँदै उहाँले उक्त घटना प्रारम्भिक रुपमा पारिवारिक बेमेलका कारण भएको देखिएको उल्लेख गर्नुभयो । उक्त हृदय-विदारक हत्याकाण्डको छानबिनमा सहयोग गर्न उहाँले स्थानीयवासी, सांसद, राजनीतिक दल तथा सरोकार भएका सबैलाई आग्रह गर्नुभयो ।

गृहमन्त्रीले सरकारले नेपाल प्रहरीको प्रदेश प्रहरी कार्यालय र प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका वरिष्ठ प्रहरी उपरीक्षकको संयोजकत्वमा छानबिन शुरु गरेको बताउँदै केही दिनभित्रै सत्यतथ्य पत्ता लाग्ने विश्वास व्यक्त गर्नुभयो ।

घटनामा नौ जनाको हत्या भएको र अर्का एकले झुण्डिएर आत्महत्या गरेको अवस्थामा शव फेला परेको थियो । घटनामा बाँच्न सफल १३ वर्षीय बालिका सीता खजुमको दमकमा उपचार भइरहेको छ । भविष्यमा यस्ता घट्न नदिन गृह मन्त्रालयले आवश्यक सतर्कता अपनाएको भन्दै गृहमन्त्रीले नागरिक प्रहरी सम्बन्ध सुधार गरी अपराधलाई कम गर्न नागरिक प्रहरी साझेदारी कार्यक्रम अगाडि बढाइएको बताउनुभयो ।

गृहमन्त्रीको भनाइ लगत्तै सांसदहरु अनिता देवकोटा, जिते न्द्रनारायण देव, रमेशजङ्ग रायमाझी, रामप्रीत पासवान, विमला राई पौडेल र प्रकाश पन्थले घटनाको मसिनो गरी अध्ययन गर्न तथा पारिवारिक कलह मात्रै भनेर नलिन आग्रह गर्नुभयो ।

शेयर गरौ

ताजा अपडेट