काठमाण्डौ, ७ जेठ :
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफूले भ्रष्टाचार गरेको प्रमाणित भए झुण्डिएर मर्ने चेतावनी दिएका छन् ।
घिसिङले नेपाल विद्युत प्राधिकरणभित्र भ्रष्टाचार भए/नभएको सत्यतथ्य बाहिर ल्याउन छानबिन समिति गठन गरिएको पनि स्पष्ट पारे ।
मंगलबार संघीय संसदको सार्वजनिक लेखा समितिको बैठकमा सत्तारुढ नेकपाका सांसद अमनलाल मोदीले डेडिकेटेड फिडर तथा ट्रंकलाइन उपयोग गर्ने उद्योगी तथा व्यापारीहरुसँग बक्यौता रकम असुली गर्ने नाममा ९ अर्ब बढी भ्रष्टाचार गरेको आरोप लगाएपछि घिसिङले त्यो आरोप प्रमाणित भए आफू झुण्डिएर मर्न तयार रहेको चेतावनी दिएका हुन् । ‘मैले कुनै भ्रष्टाचार गरेको प्रमाणित भए झुण्डिएर मर्न तयार छु, (छानबिन) सम्बन्धित निकायले गर्ला’ कुलमानले भने ‘अनावश्यक चार्ज नगर्नुहोला ।
सांसद भएँँ भन्दैमा अनावश्यक चार्ज नगर्नुहोला, सबैकुरा छानबिन भएको छ, सम्बन्धित निकायले छानबिन गरेको छ ।’ हेर्नुहोस् भिडियो कार्यकारी निर्देशक घिसिङले सांसद मोदीलाई सांसद भए भन्दैमा जथाभावी आरोप लगाउने काम नगर्न पनि सचेत गराए ।
उनले प्राधिकरणले बिलिङ गर्दा कुनै गल्ती गरेको भए त्यसलाई छानबिन गरेर सत्यतथ्य बाहिर ल्याउन दुई वटा छानबिन समिति गठन गरेर कामलाई अघि बढाइएको पनि बताए ।


