सरकारको समृद्धिको परिकल्पना हावादारी : गगन थापा

काठमाडौं, ३० वैशाख । नेपाली कांग्रेसका सांसद गगन थापाले आगामी बजेट मनोगत रुपमा नभई तथ्याङ्कलाई आधारमा मानेर बनाउनु पर्ने बताएका छन् ।

सांसद थापाले सरकारको समृद्धिको परिकल्पना हावादारी भएका कारण सरकारको नीति तथा कार्यक्रम बरालिएको र त्यसले बजेटको नीति र सिद्धान्त झन अलमल्लिएको दाबी गरे । उनले आगामी बजेटले यो गल्ती दोहोर्‍याउन नहुने पनि उनले बताए ।

सांसद गगन थापाले गएको वर्ष आफ्ना निम्ति सुखद रह्यो भन्ने एक जना मान्छे भेट्टाई दिन अर्थमन्त्रीलाई चुनौती दिएका छन् । संसदमा भएको प्रि–बजेट छलफलमा भाग लिँदै सांसद थापाले भने ‘म विनम्रतापूर्वक अर्थमन्त्रीलाई चुनौतीका साथ भन्न चाहन्छु, एक पटक नेपाल घुमौं,’ उनले थपे, ‘प्रदेश सरकारदेखि स्थानीय सरकारसम्म, विद्यार्थी, शिक्षक, मजदुर, किसान, उद्यमी व्यवसायी कसैलाई पनि भेटौं, यो वर्ष मेरा निम्ति सुखद वर्ष रह्यो भन्ने एक जना भेटाई दिनुस् ।’

उनले ‘राम्रै राम्रो भयो, सरकारले हरेक दिन एक कदम चालेकाले जनतामा खुशीयाली छायो’ भन्ने सरकारको दाबीको खण्डन गरेका छन् । आफूले यसो भन्दा अर्थमन्त्रीले अर्थतन्त्र मनोगत ढङ्गले होइन, तथ्याङ्गमा गर्नुस् भन्न सक्ने भन्दै उनले तथ्याङ्कहरु प्रस्तुत गरे ।

एकातिर लक्षित राजश्व संकलन हुन नसकेको र अर्कोतिर राज्यले चालु खर्च धान्न नसक्ने अवस्था आएको, ९ महिना ४० प्रतिशत विकास खर्च हुन नसकेको, निर्यातको अनुपातमा आयात १४ बाट १६ गुणामा पुगेको, वर्षर दुई वर्षमा देखिने वित्तीय तरलता हरेक २–३ महिना देखिन थालेको, भएका उद्योग बन्द हुन थालेको भन्दै उनले निजी क्षेत्रको लागत मात्र होइन, निराशा बढेको बताए ।

सरकारले कुल गार्हस्थ उत्पादनमा भएको वृद्धिमा हेर्नुस् भन्न सक्ने उनको तर्क छ । तर, ८ प्रतिशतको लक्ष्य राखेकोमा ६.८ प्रतिशत हासिल हुन सक्ने अवस्था आएको र यो मनसुनका कारण कृषिमा भएको वृद्धि, पुनर्निर्माणमा काष्ठ सामाग्रीको प्रयोग, आयातमा आधारित सेवा क्षेत्रमा भएको वृद्धिले ६.८ प्रतिशत आर्थिक वृद्धिदर हालिस भएको सांसद थापाको तर्क छ ।

शेयर गरौ

ताजा अपडेट