व्यबस्था बदलियो व्यवहार बदलियन : महन्थ ठाकुर

काठमाडौं, २३ बैशाख । राजपाका अध्यक्ष मण्डलका सदस्य महन्त ठाकुरले मुलुकमा व्यवस्था बदलिए पनि नेताहरुको चरित्र नबदलिएको औंल्याएका छन् ।

प्रतिनिधिसभा संसदमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा सोमबार आफ्ना कुरा राख्दै नेता ठाकुरले मधेसीहरुमाथि सरकारले गर्ने व्यवहारमा कुनै परिवर्तन आउन नसकेको दावी गरे । उनले विभेद नहटेको भन्दै समानताको कुरा गर्नेहरु भाषा र कपडा हेरेर विभेद गर्न लागि परेको आरोप लगाए ।

उनले नीति तथा कार्यक्रममा नयाँ कुरा नभएको भन्दै सिष्टम बदलिए पनि चरित्र नबदलिएसम्म समाजवादको लक्ष्य पूरा नहुने ठोकुवा गरे । उनले सिंहदरवार निरंकुशताको प्रतिक बनेको भन्दै सारा कार्यालय निरंकुशताबाट राज्य मुक्त गर्नुपर्ने धारणाा राखे । उनले संविधानको कुरा गर्दा घाउमा नुनचुक छरे जस्तो हुने भन्दै लोकतन्त्रमा न्याय माग्दा गोली खानुपर्ने अवस्था अहिले आएको बताए ।

‘हामीले संविधान संशोधन खोजेका हौँ । प्रस्ताव दर्ता पनि गरायौँ । तर भनिँदैछ संविधा सर्वस्वीकार्य छ । कसरी सर्वस्वीकार्य छ ?’, उनले प्रश्न गरे । अहिले पनि मधेस र थारुहट त्राहिमाममा रहेको भन्दै कुन बेला कोमाथि मुद्दा लाग्छ भन्ने पत्तो नभएको बताए । ‘रेशम चौधरी अपराधी भए जनताले कसरी जिताए ? यो रेशम चौधरीको मात्रै होइन त्यहाँको जनताको पनि अपमान भयो ।

अदालतको उदाहरण दिएर गोलीबाट मार्ने, धम्की दिने ? अदालत को हो ? संसदले बनाएको कानुन अदालतले ब्याख्या गर्छ,’ ठाकुरले संविधान संशोधन नगरेकोप्रति पनि आक्रोश पोखेका छन् । आफ्ना लागि परिवर्तन नभएको भन्दै उनले आफूहरु अझै अँध्यारो युगमा रहनुपरेको बताए ।

‘झयाल ढोका बन्द छ । नागरिकताको कुरा उठ्दा जहिले पनि भारतीयहरुको लाइन लागेको छ भनिन्छ । लाइन लाग्ने त भारतीय हुन् भने दिने को हुन्छ ? गृह मन्त्रालय को हो ?,’ ठाकुरले प्रश्न गरे । उनले मुकुलको समग्र विकासका लागि राज्य र सरकार सञ्चालकहरुको मानसिकतामा परिवर्तन आउनु पर्ने बताए ।

नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिदै काँग्रेसका सांसद ज्ञानेन्द्र बहादुर कार्कीले देशको सबैभन्दा ठूलो समस्या बेरोजगारी रहेको भन्दै गत बर्ष नै सरकारले प्रतिवद्धता गरेका कामहरु कति पुरा भए भन्दै प्रश्न गरे ।

त्यस्तै उनले राष्ट्रपतिलाई मेरो सरकार भन्न लगाएर गणतन्त्रप्रति सरकारले आफ्नो असलि नियत देखाएको भन्दै नीति तथा कार्यक्रमलाई सतही भाषणका रुपमा लयएको बताए ।

उनले नीति कार्यक्रम एक वर्षका लागि हुने भएपनि २ बर्ष र ४ बर्षका कार्यक्रम राखेर हचुवाका भरमा आर्थिक समृद्धिका कुरा गरेर भ्रम छरेको बताए । उनले बजेटको आकार, राजश्वको लक्ष्य घट्नु र विदेशी सहायता कम हुनुले समृद्धि नभएर अलमल मात्रै भएको बताए ।

शेयर गरौ

ताजा अपडेट