नेपालको पूर्व क्षेत्रमा अझै फानीको प्रभावः सर्तकता अपनाउन मौसमविद्को सुझाव

काठमाडौं, २१ वैशाख :

बंगालको खाडीबाट आएको चक्रवात ‘फानी’को असरको कारण अहिले पनि पूर्वका धेरै ठाउँमा पानी परिरहेको छ ।

यसको असर आज (शनिबार) साँझसम्म नेपालमा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। फानीको असर शुक्रबार दिउँसोदेखि नेपालमा परेको हो । शुक्रबार पूर्व र मध्य नेपालका अधिकांश भूभागमा वर्षा र सामान्य हावाहुरी आएको थियो ।

पूर्वी नेपालमा फानीको असर शनिबार साँझसम्मै रहने जल तथा मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् गंगा नगरकोटीले बताइन् ।

‘मध्य क्षेत्रमा फानीको प्रभाव कम हुँदै गए पनि पूर्वमा अझै सकिएको छैन,’ नगरकोटीले नेपालखबरसँग भनिन्, दिउँसोपख पूर्वमा मेघगर्जन र हुरीबताससहित केही ठाउँमा पानी पर्ने सम्भावना छ ।’ महाशाखाले गरेको फानीको पूर्वानुमान मिलेको उनले बताइन्

। ‘हामीले फानी चक्रवातको असर पूर्वमा वढी र मध्य क्षेत्रमा आंशिक पर्ने अनुमान गरेका थियौँ, त्यो मिलेको छ,’ मौसमविद् नगरकोटीले भनिन्। शनिबार दिउँसोपख मध्य र पश्चिम नेपालका धेरै ठाउँमा पश्चिमी वायुको प्रभावले मेघ गर्जनसहित हावाहुरी र वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

शेयर गरौ

ताजा अपडेट