काठमाडौं १६ बैशाख । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बालुवाटारको सरकारी जग्गा भूमाफियाले कब्जा गर्दापनि सरकारले ढाकछोप गरेको भन्दै आरोप लगाउनु भएको छ ।
सोमबारदेखि शुरु भएको संघीय संसदको बजेट अधिवेशन अन्तर्गतको पहिलो वैठकलाई सम्बोधन गर्दै उहाले सरकार ज्यादै कमजोर भएको बताउनु भयो । उहाले भन्नु भयो ‘ सरकारी जग्गाको विषयमा यती धेरै प्रमाण आउदा पनि किन मौन बस्नु भएको छ, छानविन गर्नु पर्नेमा अझै ढाकछोप गरेर बस्नु हुन्छ ।’
देउवाले भन्नु भयो भ्रष्टाचारका घटनाले नागरिकहरु दिनानुदिन निराश हुँदै गएका छन् । राष्ट्रपतिले समेत भ्रष्टाचार संस्थागत हुँदै गएको भन्नुभएको छ, यती धेरै आलोचना हुदा के हेरेर वस्नु भएको छ ।
कार्यक्रममा उहाले सरकारको नीति तथा कार्यक्रम प्रस्ट नभएको बताउनु भयो । सरकारले विदेशी लगानी आकर्षित गर्न खोजेको भने पनि नीति तथा कार्यक्रमको प्रस्टता बेगर विदेशी लगानी आकर्षित गर्न सम्भव भएको छैन । नीति तथा कार्यक्रम स्पष्ट नभए सरकारले अधि सारेको समृद्धिको यात्रा पनि साँचो अर्थमा अगाडि नबढ्ने बताउनु भयो ।
आम जनताले गफ र नारामा मात्र कामक सरकारको भूमिका खोजेको देउवाको भनाइ थियो । सरकार संघीयता, लोकतन्त्र, गणतन्त्रजस्ता परिवर्तनका संरचना भत्काउन लागिपरेको उल्लेख गर्दै देउवाले भन्नु भयो, ‘यस्तो गर्न खोजिए प्रमुख प्रतिपक्षीको रुपमा कांग्रेसले सशक्त प्रतिकार गर्छ ।’
सरकार ‘कुहिरोमा हराएको काग’को नियतिमा रहेको भन्दै देउवाले त्यसबाट बाहिर आउन पनि आग्रह गर्नु भयो । प्रधानमन्त्रीले सबै निकायका अधिकार प्रधानमन्त्री कार्यालयमा सीमित राखेर आफ्नै मन्त्रीलाई समेत विश्वास गर्न नसकेको देउवाको भनाइ थियो । अहिले मुलुकभर निराशा व्याप्त रहेको उल्लेख गर्दै देउवाले भन्नु भयो, ‘सरकार बनेको १४ महिनामा पनि जनतालाई देखाउन लायक एउटा पनि काम भएको छैन ।’


