आज लोकतन्त्र दिवस चितवनमा छैन कार्यक्रम, जनताको अपेक्षा अनुसार काम भएन

चितवन ११ बैशाख । आज बैशाख ११ गते लोकतन्त्र दिवस चितवन बाहेकका जिल्लामा विभिन्न कार्यक्रम गरी मनाइदै छ ।
२०६२÷०६३ जनआन्दोलनपछि जनताको अधिकार स्थापित भएको दिनलाई यो दिवस मनाइदै आएको छ । सरकारले आजको दिनलाई सार्वजनिक विदा नदिएपनि कार्यक्रम गरी मनाउनको लागि भने खुला रहेको जनाएको छ ।
चितवन जिल्लामा आज औपचारिक कुनै कार्यक्रम नभएको जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्ण डल्लाकोटीले बताउनु भयो । आज लोकतन्त्र दिवस हो तर दिवस मनाउन कुनै आधिकारिक पत्र नआएकाले औपचारिक कार्यक्रम छैन उहाले भन्नु भयो । त्यस्तै गरी प्रमुख जिल्ला अधिकारी जितेन्द्र वस्नेतका अनुसार जिल्लामा दिवस मनाउने सरकारी कार्यक्रम नभएको जानकारी दिनु भयो ।
वि.सं. २०६३ वैशाख ११ गते राति तत्कालीन राजा ज्ञानेन्द्रले २०५९ साल जेठ ८ गते विघटन भएको संसद् पुनःस्थापना गर्नुभएको थियो । पुनःस्थापित संसद्को जेठ ४ गतेको बैठकले राजसंस्थालाई निलम्बन गर्दै कार्यवाहक राष्ट्राध्यक्षको अधिकारसमेत प्रधानमन्त्रीलाई दिएको थियो । जनआन्दोलनमा कमाण्डरसमेत रहनु भएका नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा बनेको सर्वदलीय सरकारले २०६४ चैत २८ गते पहिलो संविधानसभाको चुनाव गराएको थियो ।
संविधानसभाको २०६५ साल जेठ १५ गतेको बैठकले नेपालमा राजतन्त्र अन्त्य भएको घोषणा गर्दै नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक देश बनाइएको थियो । वैशाख ११ गतेको दिन सबैभन्दा महत्वपूर्ण मानिन्छ ।
गणतन्त्रपछि २०७२ को संविधान निर्माण भएर स्थानीय तह, प्रदेश र संघ गरी तीनै तहको चुनाव सम्पन्न भएर जनप्रतिनिधिले काम थालेका छन् । देशमा शान्ति र स्थायित्वको सुरुवात भए पनि समृद्धि र विकासको बाटोमा देश अघि बढ्न नसकेकोमा नागरिक निराश छन् । परिवर्तनलाई संस्थागत गर्ने र व्यवहारमा लोकतान्त्रिक चरित्र देखाउने काममा सरकार र राजनीतिक दल चुक्दा नागरिकका सपना अझै पूरा हुन सकेका छैनन् । राजनीतिक दलका नेताहरुले सरकार चलाएका छन् तर जनताको अपेक्षा अनुसार काम गर्न नसकेको गुनासो बढेको छ ।

शेयर गरौ

ताजा अपडेट