बारा १० बैशाख । पेट्रोलियम पदार्थ पाइप लाइनबाटै भित्राउने तयारी गरेको नेपाल सरकारले आउदो असारमहिनाबाट सञ्चालनमा आउने भएको छ ।
भारत र नेपाल बीच भएको समझदारी अनुसार रक्सौलबाट नेपालको अमलेखगञ्जसम्म पाइल विछयाउने काम अन्तिम चरणमा पुगेको छ । निर्माणको काम सकिन लागेकाले आउदो असार महिनाबाटै पेट्रोलियम नेपाल आउने जानकारी दिएको छ।
भारतीय सिमानादेखि अमलेखगञ्जसम्म ३६ किलोमिटरमध्ये ३१ किलोमिटरसम्म पाइपलाइन बिछ्याउने काम पूरा भएको मोतीहारी–अमलेखगञ्ज परियोजना कार्यालयका प्रमुख समेत तथा अमलेखगञ्ज आयल निगमका प्रमुख इन्जिनियर प्रदीप यादवले जानकारी दिनु भयो ।
पाइपलाइन रुटभित्र परेको पर्सा राष्ट्रिय निकुञ्जको साढे ५ किलोमिटर जङ्गल क्षेत्रका रूख कटान भइसकेको र अब साढे ३ किलोमिटर जङ्गल क्षेत्रको रूख मात्र काट्न बाँकी रहेको उहाले जानकारी दिनु भयो ।
अहिलेसम्म ५ किलोमिटर पाइपलाइन मात्र गाड्न बाँकी छ । वैशाख महिनाभित्र पाइपलाइन गाड्ने काम सकिने छ । ‘जेठ महिना टेस्टिङ गर्नमै लाग्छ,’ उहाले भन्नु भयो, ‘असारबाट पाइपलाइनबाटै तेल भित्रिन्छ ।’ अहिले भइरहेको कामको गतिअनुसार असारबाटै तेल भित्रिने अनुमान गरिएको यादवले जानकारी दिनु भयो । उहाका अनुसार अबको १५ दिनभित्र रूख काटेर रुट क्लियर गरिने छ।
वैशाखभित्र पाइप गाड्ने काम पूरा हुनेछ । रूख कटानसँगै पाइपलाइन वेल्डिङ गर्ने र गाड्ने काम पनि भइरहेको मोतीहारी–अमलेखगञ्ज परियोजना कार्यालय सिमराका इन्जिनियर शरद पौडेलले बताउनु भयो ।
पाइपबाट तेल आउदा भाडा बचत वार्षिक २ अर्ब
वन क्षेत्र भएकै कारण पथलैया–अमलेखगञ्ज निकुञ्ज क्षेत्रमा पाइपलाइन गाड्ने काम ३ महिना पछाडि धकेलिएको परियोजनाका अधिकारीले बताउनु भयो । संघीय सरकारको मन्त्रिपरिषद्ले गत माघ ३ गतेको बैठकको निर्णयअनुसार पर्सा राष्ट्रिय निकुञ्ज कार्यालय आधाभार बाराले निकुञ्ज क्षेत्रको रूख काटेर पेट्रोलियम पाइपलाइन गाड्ने अनुमति दिएको थियो ।
अनुमति पाएपछि परियोजनाका अधिकारीले अमलेखगञ्ज आयल निगमभन्दा दक्षिण क्षेत्रको झाडी सफा गरेर १० दिनदेखि पाइपलाइन गाड्ने काम शुरु गरेका थिए । त्यही क्रममा पुरानो ठेकेदारले ठेक्का लिन पेस गरेको कागजात फर्जी देखिएपछि उक्त ठेक्का दोस्रो ठेकेदारले पाएका थिए । उहाले पनि प्रक्रिया पूरा गरेर काम शुरु गर्दा अझ केही दिन ढिलो हुन गएको जानकारी दिनु भयो ।
मोतीहारी–अमलेखगन्ज पाइपलाइनको दूरी ६९ किलोमिटर रहेको नेपाल आयल निगम अमलेखगञ्ज डिपोले जनाएको छ । ३२ दशमलव २० किलोमिटर पाइपलाइन भारतीय क्षेत्रमा र ३६ दशमलव २० किलोमिटर पाइपलाइन नेपाली क्षेत्रमा पर्छ ।


