चितवन समाचार डटकम,
६ बैशाख ।आन्तरिक साङ्गठानिक समस्या विच नेपाली काङ्ग्रेसको भातृसङ्गठन नेपाल विद्यार्थी सङ्घको ५० औ स्थापना दिवसका अवसरमा चितवनमा शुक्रबार विविध कार्यक्रम भएका छन् ।
चितवनमा पार्टी सभापति शेरवहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेल निकटका बिद्यार्थी नेता कार्यकर्ताले अलग अलग कार्यक्रम गरे । देउवा निकट समुहले दिपक दवाडी र पौडेल निकट समुहले सुर्य ढकालको अध्यक्षतामा कार्यक्रम गर्यो । दुवै समुहले नेपाल विधार्थी सङ्घ जिल्ला कार्यसमिति चितवनको आयोजना भनी व्यानर राखेका थिए । नेविसंघ चितवनको अध्यक्षका रुपमा दवाडीले सभापतित्व ग्रहण गरेको कार्यक्रममा शुभकामना आदान प्रदान गरिएको थियो । कार्यक्रममा नेपाली काङ्ग्रेस चितवनका कार्यसमिति सदस्य गणेश पौडेल प्रमुख अतिथि रहेका थिए ।
कार्यक्रममा नेविसंघ निवर्तमान केन्द्रीय सदस्य मित्रनिधि तिवारी, तरुण नेता श्याम पौडेल, नेताहरु वचन कार्की, प्रशान्त अधिकारी लगायतले शुभकामना मन्तव्य राखे ।यसैगरी सुर्य ढकाल सभापतित्वमा भरतपुर अस्पतालमा विरामिलाई फलफुल वितरण गरिएको थियो । कार्यक्रममा काङ्ग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठ, पुर्व सभापतिहरु टेकप्रसाद गुरुङ, रामकृष्ण घिमिरे लगायत अतिथि रहनुभएको थियो।
२०७० सालमा नेविसंघ केन्द्रीय समितिद्वारा सुर्य ढकाललाई चितवनको अध्यक्षमा मनोनित गरिएको थियो । त्यसैगरी दिपक दवाडीलाई २०७५ पुषमा तत्कालिन केन्द्रीय अध्यक्ष नैनसिङ महरले चितवन अध्यक्षमा मनोनित गरेका थिए । अहिले दवाडी र ढकाल दुवैले आफुनै नेविसंघ चितवनको अध्यक्ष हु भनी दावी गर्दै आएका छन् ।
हरेक दुई बर्ष ५ महिनामा अधिवेशनवाट नयाँ समिति चयन हुनुपर्ने नेविसंघ बैधानिक प्रावधान भएपनि त्यो हुन नसक्दा सङ्गठनमा कुन समिति आधिकारिक भन्ने विवाद बढ्दै गएको देखिन्छ ।


