प्रदेश ३ मा चारलाख रुपैयाँ प्रतिव्यक्ति आयको लक्ष्य, भोली र पर्सी भरतपुरमा लगानी सम्मेलन

चितवन समाचार डटकम, ५ बैशाख ।
प्रदेश नम्वर ३ को विकास र समृद्धिमा निजी क्षेत्रलाई लगानीको आह्वान गर्न भरतपुरमा बैशाख ६ र ७ गते दुई दिने सम्मेलन हुने भएको छ ।
प्रदेश नीति तथा योजना आयोगको आयोजनामा हुने सम्मेलनबारे जानकारी दिन आज भरतपुरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा आयोगका उपाध्यक्ष डाक्टर खिमलाल देवकोटाले सम्मेलनले यस प्रदेशको विकासका आधारशीला तय गर्ने बताउनुभयो ।
‘प्रदेश नम्वर ३ मा पूर्वाधार, उद्योग, कृषि, पर्यटन, सेवा उद्योग लगायतमा लगानीका संभावना बारे नीजि क्षेत्रका प्रतिनिधिहरुलाई जानकारी गराईने र लगानीको आह्वान गरिनेछ ’–देवकोटाले भन्नुभयो । यसका लागि आयोगले आधारपत्र प्रस्तुत गर्ने उहाँले जानकारी दिनुभयो ।
आधार पत्रले वार्षिक औषत आर्थिक वृद्धिदर ११.२ प्रतिशत हुने र प्रति व्यक्ति आय रु चार लाख पाँचहजार पुग्ने लक्ष्य लिएको छ । पाँच वर्षे योजना अवधिका लागि कुल स्थिर लगानी ३२ खर्ब ३७ अर्व आवश्यक हुने प्रक्षेपण आधारपत्रको छ । यस लगानी मध्ये ६२ प्रतिशत निजी क्षेत्रबाट हुने अनुमान गरिएको छ ।
सम्मेलनको पूर्व प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्नु हुने कार्यक्रम छ । सम्मेलनमा पूर्व अर्थमन्त्री डाक्टर रामशरण महत, प्रदेशका मुख्य मन्त्री डोरमणि पौडेल, प्रदेशका मन्त्रीहरु, प्रतिनिधि सभाका यस प्रदेशका सांसदहरु, प्रदेश सभाका साँसदहरु सहभागी हुनेछन् ।
त्यसैगरी नीजि क्षेत्रसंग सम्वन्धित सबै संघसंस्थाका प्रतिनिधिहरु, उद्योगी विनोद चौधरी, गैर आवासीय नेपाली संघका अध्यक्ष भवन भट्ट, योजना आयोगका पूर्व उपाध्यक्ष डाक्टर शंकर शर्मा लगायत सहभागी हुने जनाइएको छ ।
पत्रकार भेटघाट कार्यक्रममा प्रदेश नम्वर ३ का मुख्य मन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार जगन्नाथ थपलियाले निर्यातमुखी र सबल अर्थतन्त्र निर्माणमा दुईदिने सम्मेलन फलदायी हुने विश्वास ब्यक्त गर्नुभयो ।
त्यसैगरी आयोगका सदस्यहरु श्याम बस्नेत र रामचन्द्र ढकालले प्रदेश नम्वर ३ विकास र समृद्धिको प्रचुर संभावना बोकेको क्षेत्र भएकाले नीजि, सरकारी र सहकारी सबैको सहकार्यमा विकासको गति अघि बढाउन सम्मेलन आयोजना गरिएको बारे प्रकाश पार्नु भएको थियो ।

शेयर गरौ

ताजा अपडेट