चितवनको भीमनगर, कालिका र खैरहनीमा सिलिण्डर बम, विप्लवको बन्दमा देशका विभिन्न ठाउँमा विस्फोट

 

चितवन समाचार डटकम,   ५ बैशाख ।

 

चितवन सहित देशभरी विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बन्दको प्रभाव देखिएको छ ।
अज्ञात समूहले देशका विभिन्न ठाउँमा बम विष्फोट गराउनुका साथै केही सवारीसाधनमा आगजनी गरेको छ । अज्ञात समुहले भरतपुर महानगरपालिका वडा नंं १८ भीमनगर स्थित घोलखेतको कुलोमा टायरमाथि सिलिण्डर राखेर पड्काएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । प्रहरीका अनुसार आज विहान करिब ५ः४० बजेको समयमा सिलिण्डर वम विस्फोट भएपनि त्यहाँ मानवीय क्षती भएको छैन ।

यसैगरी कालिका नगरपालिका वडा नं. ८ कालिका मन्दिर नजिकै कयरखोलमा सिलण्डिर वम विस्फोट भएको प्रहरीले जनाएको छ । विहान करिब ४ बजेको समयमा वम विस्फोट भएको थियो । ठुलो आवाजका साथ विस्फोट भएपनि मानीय क्षती नभएको चितवन प्रहरीले जनाएको छ ।

यसैगरी खैरहनी नगरपालिका वडा नं. ८ लदरी खोलामा विस्फोट गर्न ठिक्क पारिएको सिलिण्डर वम निस्तेज गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार टायर बालेर त्यसमाथि राखी सिलिण्डर वम विस्फोट गराउन लागिएको थियो । तर समयमा थाहा पाएर निस्तेज गर्न सकिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
बन्द शुरु हुनु अगाडिनै बिहानको समयमा ठाउठाउमा सिलिण्डर वम राखेर विस्फोट गराएपनि घटनमा सम्लग्नहरु पहिचान हुन सकेको छैन । उनीहरुको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

यसै बीच पोखराको नदीपुरस्थित प्रदेश सभा भवन अगाडि भेटिएको बम डिस्पोजन गर्ने क्रममा एक सैनिक घाइते भएका छन् ।
प्रदेशसभा भवन नजिकै सडकमा कागजको डल्लोमा बेरेर डेटोनेटर डिस्पोज गर्ने क्रममा सैनिक धर्मबहादुर थापाको हातमा चोट लागेको हो । त्यसैगरी पोखराको लेखनाथस्थित सैनिक बस्तीमा पनि त्यस्तै शंकास्पद बस्तु भेटिएको छ ।

उता पाल्पाको रिब्दिकोट गाउँपालिकाको भवनमा पनि बम विष्फोट भएको छ । विष्फोटबाट गाउँपालिकाको भवनमा सामान्य क्षति पुगेको छ । विष्फोटबाट एक थान कम्प्यूटर, तीन तल्लाको अगाडी भागको झ्यालका सिसा फुटेको, एउटा झ्यालको चौकस, भवन अगाडीको ट्रस ध्वस्त भएको र भवनको ग्राह्रो समेत केही चर्किएको छ ।
त्यस्तै बागलुङको बागलुङ नगरपालिकामा पनि पाइप बम फेला परेको छ । बमलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले निस्कृय पारेको छ । त्यस्तै काभ्रेको पनौतीमा भेटिएको बम पनि सेनाले निस्क्रिय पारेको छ ।

उता मकवानपुरको भिमफेदी गाउँपालिका–९ गोलमोडमा हेटौंडाबाट तरकारी बोकेर पालुङतर्फ जाँदै गरेकोे मिनि ट्रकलाई रोकेर पाँच जनाको समूहले पेट्रोल छर्किएर आगजनी गरेको जिल्ला प्रहरी कार्यालय मकवापनपुरले जनाएको छ ।

मकवानपुरको थाहानगरपालिका वडा नम्बर ४ सिमभन्ज्याङमा पालुङबाट हेटौँडातर्फ कुखुरा बोकेर जाँदै गरको बोलेरो जिपमा अज्ञात समुहले पेट्रोल छर्केर आगजनी गरेको छ । आगलागीबाट दुईवटै गाडी पूर्ण रुपमा क्षति भएको छ ।

बम विष्फोट र आगजनीको जिम्मा अहिलेसम्म कसैले पनि लिएको छैन । नेत्रविक्रम चन्द विप्ल समूहले आफूहरुमाथि लगाएको प्रतिबन्ध फुकुवा गर्न सरकारसँग माग गर्दै नभए कडा आन्दोलन गर्ने चेतावनी दिँदै आएको छ । विप्लव समुहले आज नेपाल बन्दको आह्वान गरेको छ ।

शेयर गरौ

ताजा अपडेट