काँग्रेसको बैशाख ११ गतेबाट पहाड, तराई–मधेस राष्ट्रिय जागरण अभियान  

काठमाण्डौ ४  वैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले वैशाख ११ गते लोकतन्त्र दिवसबाट ‘पहाड, तराई–मधेस नेपाली काँग्रेस राष्ट्रिय जागरण अभियान  सुरु गर्ने भएको छ ।
सबै जिल्ला, क्षेत्र, गाउँ/नगर, वडा र टोलसम्म विस्तारित हुने जागरण अभियान २०७६ सालभरि तीन चरणमा सञ्चालन हुनेछ । पहिलो चरणमा वैशाख ११ गते सुरु भई जेठ ११ गतेसम्म एक महिना सञ्चालन हुनेछ ।
यसैगरी, दोस्रो चरणमा भदौ २४ गते बीपी जयन्तीका दिन सुरु गरेर असोज ७ गतेसम्म १५ दिन सञ्चालन हुनेछ । तेस्रो चरणमा पुस ७ गते सुरु गरी पुस १६ गते मेलमिलाप दिवसमा समापन गरिने कार्यतालिका सार्वजनिक गरिएको छ ।
राष्ट्रिय जागरण अभियानमा पहिलो चरणमा ७७ जिल्लामा, दोस्रो चरणमा ३३० वटा प्रदेशसभा निर्वाचन क्षेत्रमा र अन्तिममा ७५३ वटै स्थानीय तहमा कार्यक्रम गरिने जानकारी काँग्रेसले दिएको छ ।
ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालयमा मङ्गलबार आयोजित पत्रकार सम्मेलनमा उपसभापति विमलेन्द्र निधिले संविधानअनुसार काँग्रेसले स्थानीय तह, प्रदेश र सङ्घीय संसद्को निर्वाचन गराएकाले अब काँग्रेसलाई रुपान्तरण गर्न यो अभियान सुरु भएको बताउनुभयो ।
संविधानको भावना र मर्मअनुसार पार्टीको विधानमा तलदेखि माथिल्लो निकायसम्म समावेशी बनाइएको र ंपदाधिकारी तथा केन्द्रीय सदस्यहरु निर्वाचित गर्ने विधान बनाउने काँग्रेस पहिलो पार्टी भएको दाबी उहाँले गर्नुभयो । काँग्रेसले वडादेखि केन्द्रसम्मका पार्टीका सबै संरचनामा महिलाको सहभागिता कम्तीमा ३३ प्रतिशत सुनिश्चित गरेको छ ।
उपसभापति निधिले छिट्टै नै नेपाल विद्यार्थी सङ्घको तदर्थ समिति गठन हुने र नेपाल तरुण दलको कार्यसमितिलाई पूर्णता दिइने जानकारी दिनुभयो । पार्टीको प्रदेश संरचना छिट्टै बनाइने तर पार्टीको केन्द्रीय कार्यसमिति भने नयाँ विधान अनुसार १४ औँ महाधिवेशन पछि मात्रै पूरा हुनेछ भन्नुभयो । उहाँले सरकारले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न सहयोग पुग्ने खालको काम गर्न नसकेको र काँग्रेसले मात्रै देशमा शान्ति र समृद्धि ल्याउने दावी गर्नुभयो ।
पार्टीका महामन्त्री डा. शशाङ्क कोइरालाले काँग्रेसको झण्डाका चार तारामध्ये एउटा ताराले धार्मिक स्वतन्त्रतालाई प्रतिनिधित्व गर्ने भएकाले हिन्दु राष्ट्र बनाउने कुरै आउँदैन, धर्म स्वतन्त्र हुनुपर्छ भन्नुभयो ।

शेयर गरौ

ताजा अपडेट