बारा हुरीबतास पीडितलाई थप पीडा, असिनापानी र चट्याङ

बारा ४ बैशाख । बाराका हुरीबतास पीडितलाई मंगलबार साँझ चट्याङ परेर थप पीडा दिएको छ ।
हुरीबतासले घर भत्काएर टेण्टमा वस्दै आएका बारा फेटा गाउपालिकाका स्थानीयहरु पुन हुरीसंगै चट्याङ पर्दा थप पीडा दिएको हो । मंगलबार साँझ असिना–पानीसँगै आएको हुरीले टेन्ट उडाएको छ भने चट्याङले ६ जनालाई घाइते बनाएको छ । कलैया उपमहानगरपालिका–१२ धर्मनगरमा ५ जना र वडा १ को पर्सा टोलमा १ जना घाइते भएका हुन् ।
धर्मनगरको महल इँट्टा उद्योग रहेको घरमा चट्याङ पर्दा सोही उद्योगमा काम गर्ने मजदुरहरु घाइते भएका हुन् । उनीहरुको कलैया अस्पतालमा उपचार भइरहेको प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले जानकारी दिनु भयो । चट्याङले घरमा आगोसमेत लागेपछि कलैयाबाट गएको वारुणयन्त्रले आगो नियन्त्रणमा लिएको थियो । यसरी हुरीले फेटा गाउँपालिका–१, भलुही भरबलीया, वडा ३ र ६ को क्रमशः पुरैनिया र गछीया टोलको दर्जन टेन्ट उडाएको वडा ६ पुरैनियाका वडाध्यक्ष जाकिर मियाँले बताउनु भयो ।
‘हुरी र पानीले बसिनसक्नु बनाएको छ,’ उहाले भन्नु भयो, ‘भीषण पानीले कतिको टेन्टमा पानी पसेकोछ भने कतिपयको हुरीले टेन्ट नै उडाएको छ । रात पीडामा काटेका छौ ।’ वडा–१, भलुही भरवलीयाका वडाध्यक्ष जयप्रकाश दासले हुरीले टेन्ट उडाएको बताउनु भयो । नेपाली सेना र सशस्त्र प्रहरीले बनाइदिएको टेन्टमा उकुसमुकुस भएर बस्दै आएका हुरीपीडितहरुको टेन्ट उडाएपछि झनै विजोग भएको छ ।

टेन्ट उडाएपछि बालबालिका र महिलाहरुलाई बिच्चली भएको छ । दुई साताअघि आएको टोर्नेडोले घरविहिन बनाएपछि ऊनीहरु टेन्टमा बस्दै आएका थिए । गत चैत १७ मा आएको शक्तिशाली चत्रवातपछि एकाध दिन बिराएर हावाहुरी र असिनापानी पर्दै आएको छ ।

 

शेयर गरौ

ताजा अपडेट