काङ्ग्रेसले भन्याे,´´०७५ सालमा सरकार असफल”

काठमाडौं, २ बैशाख :
प्रमुख प्रतिपक्ष कांग्रेसले केपी शर्मा ओली नेतृत्वको सरकारको–२०७५ साल असफल भएको दाबी गरेको छ ।

२०७५ को सुरुवाती दिन आश गर्न लायक रहे पनि त्यसपछिका सरकारका गतिविधिले जनतालाई निरास पारेको कांग्रेसको दाबी छ ।

सोमबार पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरेर नेपाली कांग्रेसले ओली सरकारको बारेमा आफ्नो समिक्षा सार्वजनिक गरेको हो । निकै ठूलो आश्वासनकाबीच निर्वाचन जितेर सरकार गठन भए पनि सरकारले प्रतिबद्धता पूरा गर्न अपेक्षा अनुसारको काम नगरेको उसको दाबी छ ।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले पत्रकार सम्मेलनमा संघीयता कार्यान्वयन, भ्रष्टाचार शून्य सहनशीलता, संवैधानिक परिषद र न्यायपालिका, शान्ति सुरक्षा, अन्तर्रा्ष्ट्रिय छवि, समृद्धि र प्रधानमन्त्रीका प्रतिबद्धताहरुमा शून्य प्रगति रहेको दाबी गरे ।

पत्रकार सम्मेलनमा शर्माले भने, ‘०७५ सालको प्रारम्भ सम्माननीय प्रधानमन्त्रीज्यूले भन्नुभए झैं साच्चै केही नविन आशाका साथ भएको थियो । तर विदाइ भने आशालाई विश्वासमा बदलेर हुन सकेन ।’

२०७५ सालले प्रधानमन्त्रीको सफलता बोल्नमा हुन्छ कि कर्म गर्नमा हुन्छ भन्ने विषयलाई छलफलका विषयका रुपमा छोडेर गएको उनको दाबी छ । उनले भने, ‘२०७५ सालले एउटा छलफल गर्नुपर्ने विषय छोडेर गएको छ, बहस गर्नुपर्ने विषय छोडेर गएको छ । त्यो हो, प्रधानमन्त्रीको सफलता बोल्नमा हुन्छ कि कर्म गर्नमा हुन्छ भन्ने ।’ प्रधानमन्त्रीको सफलता बोल्नमा नभएर कर्म गराइले लेखिन्छ भन्ने तथ्य ओलीलाई पुनः सम्झाउनुपर्ने बेला भएको कांग्रेसको निष्कर्ष छ ।

सरकारले संघीयता कार्यान्वयनको सवालमा अधिकार बाँडफाँड, राज्यका तहगत संरचनाहरुको निर्माण र हस्तान्तरण, कर्मचारी समायोजन र उचित बजेट प्रबन्ध गर्न नसकेको कांग्रेसको दाबी छ । सबै प्रदेशहरुले नामकरण र राजधानीको टुंगो नलगाउनु पनि असफलता भएको कांग्रेसको दाबी छ ।

कांग्रेसले भनेको छ, ‘गएको वर्ष शक्तिको अधिकतम विन्यासको संघीयताको सिद्धान्त विपरित एकातर्फ प्रधानमन्त्री कार्यालयमा राज्यका महत्वपूर्ण अंगहरुलाई केन्द्रकृत गरियो भने संविधानले राष्ट्रिय सुरक्षा परिषदलाई प्रत्याभूत गरेको सेना परिचालन सिफारिसको अधिकार हनन् गर्ने विधेयक ल्याएर परिषद्लाई प्रधानमन्त्रीको लाचार छायाँ बनाउने दुस्प्रयाससम्म भयो । यस दृष्टिले शक्ति विकेन्द्रकरण र संघीयताको सफल कार्यान्वयनका सन्दर्भमा वर्ष ०७५ असफल हुन पुग्यो ।’

प्रधानमन्त्री ओलीले २०७५ सालमा कम्युनिष्ट कार्यकर्तालाई अरिंगाल बन्न, बुद्धिजीवीलाई थला पार्ने र प्रतिपक्षी दल कांग्रेस लगायतलाई नन्दी–भृंगीको संज्ञा दिएर आफ्नो नकारात्मक सोच, शैली र संस्कारको उपहार दिएको कांग्रेसको भनाई छ ।

प्रधानमन्त्री ओलीका यस्ता अभिव्यक्तिले बाल मनोविज्ञानमा असर पर्ने भन्दै टिभी च्यानल बन्द गर्ने अवस्था आएको दाबी गरे । भने, ‘’प्रधानमन्त्री जब टेलिभिजनमा बोल्न थाल्नुहुन्छ, बुढापाकाले मनोरञ्जन प्रशस्तै प्राप्त गर्नुभएको छ । बूढाबूढीले मनोरञ्जन प्राप्त गरेको अभिव्यक्तिसम्म त ठिकै हो तर केही नकारात्मक अभिव्यक्ति आउँछन्, जसको नकारात्मक असर नपरोस् भनेर टेलिभिजन च्यानल बन्द गर्नुपर्ने अवस्था आएको छ ।’

शेयर गरौ

ताजा अपडेट