काठमाडौं, २ बैसाख ।
राष्ट्रपति विद्यादेवी भण्डारी आउँदो वैशाख ११ गते छिमेकी देश चीन भ्रमणमा निस्किने भएकी छन् ।
भण्डारी बेल्ट एन्ड रोड इनिसियटिभ (बिआरआई) को दोस्रो शिखर सम्मेलनमा भाग लिन बेइजिङ जान लागेकी हुन् । परराष्ट्र मन्त्रालय र बेइजिङस्थित नेपाली दूतावासले राष्ट्रपति भण्डारीको भ्रमण तयारी तीव्र बनाएका छन् । यद्यपी उनको भ्रमणको आधिकारिक कार्यक्रम सार्वजनिक हुन बाँकी नै छ । बिआरआईको दोस्रो शिखर सम्मेलन अप्रिल २५ देखि बेइजिङमा हुँदैछ ।
चीनले एसिया, अफ्रिका र युरोपलाई जल र जमिनबाट जोड्ने लक्ष्यसाथ ल्याएको बिआरआईमा नेपालले हस्ताक्षर गरिसकेको छ । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीका अनुसार राष्ट्रपति भण्डारी सियान हुँदै बेइजिङ पुग्ने कार्यक्रम छ । सियानमा राष्ट्रपति भण्डारीले चिनियाँ कम्युनिष्ट पार्टीका प्रान्तस्तरीय नेताहरूसँग छलफल गर्ने जनाइएको छ । सियान चिनियाँ राष्ट्रपति सी चिनफिङको जन्मस्थल पनि हो ।
सियान भ्रमण सकेर राष्ट्रपति बेइजिङ जाने छन् । त्यहाँ उनी बिआरआईको दोस्रो शिखर सम्मेलनमा सहभागी हुनेछन् । बेइजिङमा रहँदा राष्ट्रपति भण्डारीले चिनियाँ समकक्षी सीसँग दुई पक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ ।
‘दुई राष्ट्रपतिको भेटमा तीन वर्षअघि भएको नेपाल–चीन पारवहन सम्झौताको प्रोटोकलमा हस्ताक्षर हुन्छ,’ मन्त्री ज्ञवालीले भने । यसअघि गत भदौमा नेपाल र चीनले सम्झौताको प्रोटोकल टुंग्याएका थिए। उक्त प्रोटोकल अनुसार नेपालले चीनका ४ सामुद्रीक र ३ सुख्खा बन्दरगाह प्रयोग गरी सामान ल्याउने सक्नेछ ।
वाणिज्य मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले प्रोटोकलमा हस्ताक्षर गर्नेसम्बन्धी प्रस्ताव परराष्ट्र मन्त्रालयमा पठाइसकेको जानकारी दिए । राष्ट्रपति भण्डारी अप्रिल २९ मा बेइजिङनजिकै सुरू हुने बागबनी प्रदर्शनीमा पनि सहभागी हुने तय भएको छ । बेइजिङ भ्रमण सकेर राष्ट्रपति भण्डारी चीनको स्वशासित क्षेत्र तिब्बत आउने छन् । तिब्बत भ्रमण सकेर उनी वैशाख १९ गते स्वदेश पुग्ने कार्यक्रम छ ।


