ज्येष्ठ पूर्वकर्मचारीलाई जीवन निर्वाह भत्ता दिने सशस्त्र प्रहरी बलको घोषणा

बैशाख २- सशस्त्र प्रहरी बलले आफ्ना ज्येष्ठ पूर्वकर्मचारीलाई जीवन निर्वाह भत्ता दिने घोषणा गरेको छ । सोमबार हल्चोकस्थित सशस्त्र प्रहरी मुख्यालयमा पत्रकार सम्मेलनमा बोल्दै सशष्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले यस्तो जानकारी दिए । उनले ७० वर्ष कटेका पूर्वसशस्त्र प्रहरी कर्मचारीलाई वार्षिक रुपमा १२ हजार रुपैयाँ निर्वाह भत्ता दिन लागेको बताए । नेपाल सरकारको जेष्ठ नागरिकलाई सम्मान गर्ने नीतिलाई मूर्त रुप दिन संगठनले वार्षिक भत्ता उपलब्ध गराउने निर्णय गरेको उनको भनाई छ । यसैगरी उनले पूर्वकर्मचारी तथा वीरगति प्राप्त गरेका कर्मचारीका सन्तानको बिवाहमा समेत निःशुल्क ब्याण्ड बाजा उपलब्ध गराउने निर्णय पनि गरिएको बताए ।

यसअघि बलका वहालवाला कर्मचारी र उनीहरुका सहोदर छोराछोरीलाई मात्र यो सुविधा दिइँदै आएको थियो । यो वर्षबाट कर्मचारीले लिन पाउने ऋणको कोटा पनि बढाइएको छ । यसअघि २ सय २५ जनाले ऋण लिन पाउने व्यवस्था रहेकामा थप २५ वटा कोटा कायम गरेर २५० जनाले ऋण लिन पाउने व्यवस्था गरिएको छ । खनालले आफ्नो एक वर्षे कार्यकालको कामको विवरण सार्वजनिक गर्दै स्रोत, साधन र जनशक्तिको अभावमा माग अनुसारको नयाँ युनिट स्थापना गर्न नसकिएको जानकारी दिए ।

सशष्त्र प्रहरी बलको नयाँ युनिट स्थापनाका लागि १ सय ६९ वटा स्थानमा माग भएपनि साधन, स्रोत र जनशक्तिको अभावमा स्थापना गर्न नसकिएको उल्लेख गरिएको छ । सशष्त्र प्रहरी महानिरीक्षक खनालले ठूला जलविद्युत आयोजनालगायतका राष्ट्रिय गौरवका आयोजनाहरुमा सशष्त्र प्रहरी बलको माग भईरहेको तर जनशक्तिको अभावमा सो माग पूरा गर्ने अवस्था नरहेकोे उनले स्पष्ट पारे ।

शेयर गरौ

ताजा अपडेट