चितवन समाचार डटकम
माडी २७ चैत । नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वादमुढे पार्कको लागि १० करोड रुपैंया विनियोजन भएको बताउनु भएको छ ।
आज चितवनको माडी आज पुग्नु भएका पार्टी अध्यक्ष प्रचण्डले कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्वोधन गर्दै सो कुरा बताउनु भएको हो । सशस्त्र द्वन्द्वका क्रममा भरतपुर आउदै गरेको यात्रुबाहक वसमा वम पट्काउदा ३९ जनाको ज्यान गएको थियो । घटनामा मृत्यु भएका र घाइतेको सम्झनामा पार्क निर्माणको लागि बजेट छुट्टाइएको बताउनु भएको हो ।
उहाले भन्नु भयो ‘माडीको विकासमा मेरो ध्यान गएको छ, कुन मोडलले उत्कृष्ट विकास गर्न सकिन्छ भन्ने सोचाइ रहेको छ ।’ माडी नगरपालिकाको लागि अहिले आइरहेको बजेटमा नघटाइ थप बजेट बृद्धि गर्ने योजना रहेको जानकारी दिनु भयो । उहाले भन्नु भयो ‘अहिले यो नगरपालिकामा विभिन्न शीर्षकमा गरी २ अर्ब बजेट आएको छ, आउदो आर्थिक वर्षमा पनि त्यो नघटनाइ कृद्धि गर्ने तयारी रहेको छ ।’
माडीका जनता भरतपुर आउन जान र निकुञ्जको जनावरको कारण दुःख पाएको विषय अवगत रहेको भन्दै उहाले निकुञ्ज ऐन संसोधनको तयारीमा रहेको जानकारी दिनु भयो । राष्ट्रिय निकुञ्ज ऐन संसोधनको लागि बृहत रुपमा छलफलमा रहेका छौ उहाले भन्नु भयो ‘संरक्षणसंगै जनताको हितमा ऐन आउने छ ।’ माडी जानको लागि निकुञ्ज भित्रको सडकमा कालोपत्रे हुन नसकेकोमा चिन्ता व्यक्त गर्दै त्यो काम पनि छिट्टै पूरा हुने जानकारी दिनु भयो ।
निर्वाचनको समयमा माडीको सभामा सम्वोधन गर्दै मैले निकुञ्ज माथि हवाइ पुल निर्माण गर्न सकिन्छ भनेको कुरा ताजै रहेको भन्दै यो काम विस्तारै पुरा हुने बताउनु भयो । पहिला निकुञ्ज भित्र कालोपत्रे गरेपछि यो काम अगाडि वढ्ने जानकारी दिनु भयो ।
कार्यक्रममा उहाले पार्टी एकताको विषय कम्युनिष्ट पार्टी स्थापनाको दिनमा नै सबै कुरा टुङगो लाग्ने बताउनु भयो । एकताको काम केही समय ढिला भएको हो तर आत्तीनु पर्ने कुरा छैन अव सबै कुरा एकै पटक आउने छ । उहाले चितवनका विकासको लागि कृषि, पर्यटन, माडीको रिङ रोड, लिंक रोडलगायतको काममा आफ्नो ध्यान गएको जानकारी दिनु भयो । अध्यक्ष प्रचण्ड माडीको माडी क्याम्पसको कार्यक्रमका लागि आज चितवन आउनु भएको हो ।


